स्वदेश फिर्ता हुन पाउनु पर्ने माग गर्दै सिंहदरबारमा धर्ना दिन गएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ ।
शुक्रबार सिंहदरबार प्रवेश गर्न खोजेपछि प्रहरीले प्रतिकार गर्दा झडप भएको महानगरीय प्रहरी परिसरका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए। विना कुनै जानकारी लकडाउनको निषेधित क्षेत्र तोडेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्ने क्रममा झडप भएको हो
केही चिनियाँ नागरिकहरू जम्मा भएर सिंहदरबार प्रवेश गर्न खोजेपछि त्यहाँ झडप भयो, उनले भने, प्रहरीले बल प्रयोग गरेर उनीहरूलाई नियन्त्रणमा लिएको छ।
प्रहरीले ३८ चिनियाँ नागरिकलाई पक्राउ गरी नगर प्रहरी कार्यालयमा राखिएको छ।
चिनियाँ नागरिक र प्रहरीबीच भएको घम्साघम्सीमा महानगरीय प्रहरी वृत्त, सिंहदरबारका डीएसपी हरिबहादुर बस्नेत, एक जना महिला प्रहरी र चिनियाँ नागरिकतर्फ तीन जना घाइते भएका छन् । घाइतेको वीर अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
उनीहरू आफ्नो देश फर्किन चाहन्छन्। धेरै अघिदेखि नै उनीहरूले फर्किने प्रयास गरिरहेका छन्, उनले भने,राजदूतावास गएर पनि घर पठाइदेऊ भन्ने खालका कुरा गरेका थिए।
झडपबाट महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी हरि बस्नेत घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको छ।
ती चिनियाँ नागरिकका बारेमा राजदूतावासमा छलफल गरेपछि मात्रै थाहा हुने एसएसपी ज्ञवालीले बताए।
लकडाउनका कारण नेपालमा रहेका धेरै चिनियाँ नागरिक यतै अलपत्र परेका छन्।
काठमाडौंस्थित चिनियाँ दूतावासले केहीलाई जहाज चार्टर्ड गरी स्वदेश पठाए पनि केही अझै नेपालमै अड्किएका छन्।