१४ बैशाख २०८१, शुक्रबार

भारतले नेपाली भूमि अतिक्रमण गर्दै मानसरोबरको बाटो खोल्यो

kailash mansarovar link road

भारतले नेपाली भूमि अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोबर यात्राका लागि नयाँ बाटो खोलेको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फ्रेन्समार्फत धार्चुला–लिपुलेक लिंक रोड उद्घाटन गरेका हुन् ।

भारतको उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सडक मार्ग भारतले खोलेको हो ।

भारतीय रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘उत्तराखण्डको बोर्डर रोड अर्गनाइजेसन (बीआरओ)ले कैलाश मानसरोबर रुटलाई चीनको बोर्डरसम्म जोडेको छ । कोभिड १९ को महामारी सामना गर्दै बीआरओले १७ हजार ६० फिट उचाईमा रहेको कैलाश मानसरोबरमा बाटो विस्तार गरेको हो ।’

kailash mansarovar link road 1

यो सडक मार्गले नेपाली भूमिलाई हस्तक्षेप गरेको सीमाविदहरु बताउँछन् । भुगोलविद प्रा.डा. नरेन्द्रराज खनाल त्यो बाटो नेपाली भूमि हुँदै गाएको बताउँछन् ।

सन् १८१६ को सुगौली सन्धि अनुसार काली (महाकाली) नदी पूर्वका सम्पूर्ण भूभाग नेपालको हो । प्रा.डा. खनाल लिम्पियाधुरा मुहान भएको नदी नै सीमा नदी भएकाले गुञ्जी, गब्र्याङ, कुटीयाङ्दी लगायतका सम्पूर्ण भूभाग नेपालको हो ।

सर्वे अफ इन्डियाले नेपाली भूभागसमेत भारततर्फ पर्ने गरी नोभेम्बर २०१९ यता दुई वटा राजनीतिक नक्सा प्रकाशन गरेपछि नेपालमा त्यसको चर्को विरोध भयो ।

त्यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङले लिपुलेकलाई व्यापारिक मार्गको रुपमा विकास गर्ने भनी समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । त्यतिबेला उनीहरूले नेपाललाई कुनै जानकारी दिएको थिएन ।

कालापानी क्षेत्र र नवलपरासीको सुस्तामा सीमा विवाद रहेको कुरा दुबै देशले स्वीकारेको छ । तर आफैले विवाद छ भनेर स्वीकारेको क्षेत्रमा एकलौटी रुपमा बाटो खोल्नु गलत भएको जनकारहरू बताउँछन् ।

सर्वे अफ इन्डियाले निकालेको नक्साको जनस्तरमा व्यापक विरोध भएपछि नेपाल सरकारले कुटनीतिक नोट पठाएको थियो । तर भारतले अहिलेसम्म समस्या समाधान हुने गरी तत्परता देखाएको छैन ।

भारत चुप लागेर बसे पनि नेपालले आफ्नो दृष्टिकोण स्पष्ट पार्नुपर्ने जानकारहरू बताउँछन् । पूर्व सचिव द्वारिकानाथ ढुंगेलका अनुसार यो महाकाली नदीको मुहानसँग जोडिएको मुद्दा हो ।

भारत आफैंले कालापानी र सुस्तामा विवाद छ भनेको बेला त्यसरी सडक खोल्नु सहमति विपरीत भएको ढुंगेल बताउँछन् ।

‘कोभिड–१९ को मारमा परेका बेला भारतले सडक उद्घाटन गरेको खबर आयो’ सीमा बचाउ अभियानमा समेत सक्रिय पूर्वसचिव ढुंगेल भन्छन् ‘एउटा नागरिकको नाताले मेरो प्रश्न छ यो विषयमा नेपाल सरकारको दृष्टिकोण के हो ? दिल्लीस्थित नेपाली दुतावासले के खबर गर्‍यो ?’