२३ बैशाख २०८१, आईतवार

फुटको खतरा जसपामा, मधेशवादी दलहरु राजनीतिक समिकरणको नयाँ विकल्पमा जुटे !

jasapa

स्थानीय चुनावको नतिजाबाट आफ्नो विरासतमा धक्का लागेको महसुस गरेका मधेशवादी दलहरु राजनीतिक समिकरणको नयाँ विकल्पमा जुटेका छन । मधेशबादी दलहरुबीच नै गठबन्धन बनाउने गरी उनीहरु आन्तरिक तयारी तयारीमा जुटेका छन् । अर्कातर्फ सरकारमै भएकाहरु बाहिरिने र नभएकाहरु थपिने खालको अवस्था समेत सिर्जना भएको छ । स्थानीय तह निर्वाचनको नतिजाबाट मधेशवादी दलहरुले पनि धक्काको महसुस गरेका छन् ।

विगतमा प्रदेश सरकार नै बनाउने हैसियत बनाएका उनीहरु अहिले टुटफुटका कारण आफ्नै आधार क्षेत्रमा अस्तित्वको लडाई लडिरहेको छन । जहाँ कांग्रेसले आफ्नो पुरानो शाख फिर्ता ल्याउदाँ मधेशवादी दलहरुका लागि भने चुनौती थपिएको छ । फलता उनीहरु यतिवेला सम्भावित राजनीतिक समिकरणको तयारीमा जुटेका छन । यहिवीचमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपा सरकारमा सहभागि हुने तरखरमा छ भने जनता समाजवादी पार्टी जसपा बाहिरिने सम्भावना बढेको छ ।

यो समिकरणका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) लाई दुई मन्त्रालय छाड्न आग्रह गरेका छन् । यसैका लागि आइतवार साँझ बालुवाटारमा प्रधानमन्त्री देउवा र जसपा अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको भएपनि यादवले दुई मन्त्रालय छाडे आफू सरकारबाट बाहिरीने बताएका छन । यता देउवाले लोसपालाई २ मन्त्रालय र प्रतिनिधि सभाको उपसभामुख पद लिएर सरकारमा आउन प्रस्ताव गरिसकेका छन । देउवाको उक्त प्रस्तावमा अध्यक्ष ठाकुर पनि सहमत भएका छन् ।

यता लोसपा नेताहरुले समेत सैद्धान्तिक नभई निर्वाचणको रणनितिक गठबन्धन गर्न आफूहरु छलफलमा रहेको बताएका छन । जसका लागि एमाले र कांग्रेस दुवैसंग छलफल भएको उनीहरुको भनाई छ । यो वीचमा जसपा संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले पनि गठबन्धनको विकल्प खोज्नुपर्ने बताएका छन भने अर्का अध्यक्ष यादवले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन । अर्कातर्फ डा.सिके राउत नेतृत्वको दल जनमत पार्टीले लोसपा र जसपासहितको गठबन्धनको प्रयास जारी राखेको छ ।

तर यहिवीचमा (जसपा) र (लोसपा)बीच एकता प्रयासको चर्चाले समेत मधेशको राजनीति तरंगित बनेको छ । लोसपाले खासै चासो नदेखाएपछि जसपा अध्यक्ष यादव एकताका लागि हतारिएको कुराले उनलाई आफ्नै पार्टी सन्तुलन गर्न समेत समस्या परेको देखिएको छ । एकातर्फ गठबन्धनमा धोका भएको उनको बुझाईकावीच सरकारबाट पनि बाहिरिने अवस्थाले नयाँ विकल्प आवश्यक देखिएको छ ।

यदि मधेशबादी दल मिले आधार क्षेत्रमै वलियो बन्न सकिने र पार्टीभित्रको शक्ति सन्तुलनमा मिल्ने यादवको बुझाइ छ । आगामी निर्वाचनसम्मै गठबन्धन आवश्यक रहेको र डा.बाबुराम भट्टराई पार्टी फुटाएर जान लागेको खवर प्राप्त गरेको जसपा नेताहरुको भनाईले समेत यादवको हतारोको ध्येय प्रष्ट पारेको छ

हुन त मधेशवादी दलहरुलाई राजनीति वार्गेनिङ भन्दा माथि उठ्न नसकेको समेत आरोप लाग्ने गरेको छ । सरकारमा जान पार्टी फुटाउनेसम्मको उनीहरुको इतिहास समेत छ । तर सबैको आधारभूमि भने मदेश नै रहेकोले एकपटक फेरी मदेशवादीको गठबन्धन बन्ला त ? सम्भावना त्यो पनि छ । तर अहिले प्रष्ट रुपमा अघि नआएका उनीहरु कता सहज हुन्छ त्यतैतर्फको यात्रा तय गर्न लागि परेका छन् ।