२६ बैशाख २०८१, बुधबार

पोखरामै मिर्गाैला प्रत्यारोपण गराउने गण्डकी सरकारको घाेषणा

Kidney Transplant

गण्डकी सरकारले प्रदेशको राजधानी पोखरामा मिर्गाैला प्रत्यारोपण सेवा सुरु गर्ने कार्यक्रम अघि सारेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा पोखराबाटै मिर्गाैला प्रत्यारोपण गराउने जनाएको हो ।

यस्तै, प्रदेशभित्रका मिर्गाैला राेगीलाई नियमित सेवा दिन गोरखा, लमजुङ र मध्येविन्दु जिल्ला अस्पतालमा डायलाइसिस सेवा विस्तार गर्ने जनाएको छ । पोखरामा ५० सैय्याको मुटुरोग अस्पताल स्थापना र सन्चालन गरिने प्रदेशप्रमुख पृथ्वीमान गुरुङले जानकारी दिए ।  

सरकारले आउँदो वर्षदेखि सुत्केरी विपन्न महिलालाई ४५ दिनसम्म पोषणभत्ता उपलब्ध गराउने जनाएको छ । ‘सुत्केरी आमा, पोषिलो खाना’ कार्यक्रममार्फत स्थानीय तहसँगको सहकार्यमा ४५ दिनसम्म विपन्न परिवारका सुत्केरीलाई पोषणभत्ता उपलब्ध गराउने गुरुङले बताए । सरकारले आमा र शिशुको स्वास्थ्यका लागि एयर लिफ्टिङ कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । दुई वर्ष अघिदेखि सरकारले दुर्गम ठाउँका सुत्केरी र गर्भवती महिलालाई हेलिकोप्टरबाट उद्धार गरी सुविधासम्पन्न अस्पतालमा उपचारका लागि पुर्‍याउँदै आएको छ ।