१६ बैशाख २०८१, आईतवार

रोपाईं सुरु हुनै लाग्दा रासायनिक मलको हाहाकार

mal ayo
फाइल फोटो

आउँदो सातादेखि रोपाइँ शुरु हुँदै छ। अहिले धानका लागि ब्याड राख्ने समय हो । असार लाग्नासाथ रोपाईंको चटारो सुरु हुन्छ । तर किसानलाई चिन्ता रासायनिक मलकै छ ।

यो वर्ष पनि गत वर्षहरुझैँ किसान युरिया मलको चरम अभाव व्यहोर्न बाध्य हुने अवस्था देखिएको छ । सरकारले समयमै जोहो गर्न नसक्दा धान रोप्ने बेला यसपाली पनि किसानले मल नपाउने स्थिति देखा परेको हो ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका सलिम मोहम्मद मुसलमानले धानको बीउ राखिसकेका छन् । असार लागेपछि रोपाई शुरु हुनेछ । तर उनको मुख्य चिन्ता रोप्ने बेला रासायनिक मल पाइन्न भन्ने हो । 

कैलालीका हृदयकुमार थापा मल लिन बिहिबार रुपन्देहीको भैरहवास्थित कृषि सामाग्री कम्पनीको गोदाममा आएका थिए । एक गाडी मल लैजाने भन्दै आएका उनले जम्मा एक सय पााच बोरा मात्रै पाए । तर सहकारीका पाँच सय किसानलाई कसरी बाँड्ने उनको चिन्ता छ । कैलालीबाटै आएका मिहीलाल चौधरी र अन्य दुईवटा सहकारीले पनि खोजे जति मल पाएनन् । चारवटा सहकारीले पाएको चार सय २० बोरा डिएपी मलले एउटै ट्रक ढुवानी गरेर लगे । यसले मलको हाहाकार कस्तो हुँदैछ भन्ने संकेत गर्छ ।

पश्चिम नेपालका लागि चैतमा तीन हजार चार सय मेट्रिक टन डिएपी मल आएको थियो । त्योमध्ये धेरै मकै लगाउँदा प्रयोग भयो ।  अब एक हजार नौ सय मेटि्रक टन मात्रै मल बाँकी छ । युरिया मलका गोदाम त झन् गत वर्षदेखि नै रित्तै खेती लगाउने बेलामै मल नपाउँदा किसानले भोग्नुपर्ने पीडा भनिसाध्य छैन ।

कृषिलाई प्राथमिकता दिने र उत्पादन बढाउने लक्ष्यसहित संसदमा बजेटमाथि बहस भइरहँदा किसान भने मल खोज्दै भौतारिनुपरेको छ । तर ग्लोबल टेण्डर र सिधैँ सरकारमार्फत ल्याउने प्रकृया भने अझै सुरु भएको छैन ।

कृषि तथा पशुपंक्षी मन्त्रालयसँगै सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी र पब्लिक प्राइभेट पार्टनरसिपअन्तर्गतको साल्ट ट्रेडिङ कर्पोरेसनले किसानलाई युरिया मल उपलब्ध गराउने गर्दछ ।

तर, समयमा पर्याप्त बजेट निकासा नहुनु र बजेट खर्च गर्दा पारदर्शी कार्ययोजना नहुँदा किसान हरेक वर्ष रासायनिक मलको चर्को अभाव व्यहोर्न बाध्य छन्।

नेपालमा वार्षिक ८ लाख टनभन्दा बढी मल आवाश्यक पर्छ । आर्थिक वर्ष २०७७–७८ मा एक लाख ५४ हजार १ सय १८ टन मल आयात भयो । यो आर्थिक वर्षमा नै ३० हजार मेट्रिक टन युरिया र त्यति नै डिएपी मल पुगेको छैन भने अर्को आर्थिक वर्ष शुरु भएसँगै मलको आवाश्यकता ह्वात्तै बढ्छ ।

मलको आयात हुन्छ, उक्त मल कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत विभिन्न स्थानमा पुग्छ । आवाश्यकताभन्दा कम मत आपूर्ति भएपछि गाउँगाउँमा मलको हारालुछ हुन्छ ।

कृषि सामग्रीले मोटो कमिसनका लागि मलको चर्को अभाव सिर्जना गरी भारतसँग जीटुजी प्रणालीअन्तर्गत मल खरिद गर्दै आएको छ।

मल समयमा नै नपाउँदा उत्पादन घट्छ र धान उत्पादनमा १० प्रतिशतले तलमाथि हुँदा जीडीपीमा १ प्रतिशतले घटबढ हुन्छ । सरकारले यो विषयलाई ध्यानमा राख्दै समयमा र पर्याप्त मलको आपूर्ति कहिले गर्ला ?