२२ बैशाख २०८१, शनिबार

सधै झै सत्ता पक्षका सांसद बजेटको बचाउमा, अर्बौ रुपैयाँ देश बाहिर गएको आरोप !

janardan sharma1
फाइल फोटो

संघीय संसदमा आगामी आर्थिक वर्षको बजेटमाथि आज पनि सैद्धान्तिक छलफल भएको छ । सधै झै आजको छलफलमा पनि सत्ता पक्षका सांसदले बजेटको बचाउ गरेका छन भने प्रतिपक्षी दलका सांसदले चर्को विरोध गरेका छन् । छलफल सकिएपछि अर्थमन्त्रीले संसदमा उठेका प्रश्नको जवाफ दिने छन् । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले आ.व. २०७९/८० को बजेटले व्यापार घाटा घटाउनका लागि सही दिशा पक्रेको बताए ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा आ.व. २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिदै सांसद थापाले व्यापार घाटा कम गर्न उत्पादकत्व बढाउनुपर्ने उल्लेख गर्दै बजेटमा उत्पादनको स्पष्ट दृष्टिकोण प्रस्तुत भएको धारणा राखे । सांसद थापाले बजेटमा नीजि क्षेत्रको संस्थागत मागहरुलाई सम्बोधन गरिनुले अर्थतन्त्रलाई थप चलायमान बनाउने विश्वास व्यक्त गरे ।

छलफलमा भाग लिदै नेकपा (एमाले)का सांसद प्रदीपकुमार ज्ञवालीले सरकारले आगामी आर्थिक वर्षमा आयात घटाएर राजस्व बढाउन नसक्ने दावी गरे । राजस्वको ठुलो हिस्सा आयातमा निर्भर भएको हुनाले आयात घटाएर राजस्व बढाउन नसकिने उनको धारणा छ । सांसद ज्ञवालीले शिक्षामा अर्बौ रुपैयाँ देश बाहिर गएको भन्दै त्यसलाई रोक्ने कुनै पनि कार्यक्रम बजेटले ल्याउन नसकेको आरोप लगाए ।

बजेटमाथिको छलफलमा भाग लिदै नेकपा (माओवादी केन्द्र) का सांसद गिरिराजमणि पोखरेलले सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा सम्बन्धित कार्यलाई अर्थमन्त्री जनार्दन शर्माले बुझ्न नसकेको टिप्पणी गरे । उनले बजेटमा स्वास्थ्य बीमा कम्पनीलाई दिने उल्लेख गरिएको भन्दै अर्थमन्त्रीले यसलाई पुनरावलोकन गर्नुपर्ने सुझव दिए । त्यस्तै, सांसद पोखरेलले सार्वजनिक शिक्षाको सबलीकरणको मुद्दालाई व्यवहारिक ढंगले अगुवाई गर्न बजेटले नसकेको आरोप लगाए ।

अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदमा गत आइतबार बजेट प्रस्तुत गरेका थिए । मंगलबारबाट बजेटमाथि सैद्धान्तिक छलफल सुरु भएको हो । सांसदले उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिएपछि बजेट निर्णयार्थ प्रस्तुत गरिने छ ।