१४ बैशाख २०८१, शुक्रबार

डडेल्धुरा मेडिकल कलेजबाहेक सुदूरपश्चिममा नयाँ योजना समेटिएनन्

janardan

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दा सुदूरपश्चिम प्रदेशमा नयाँ योजना भने परेका छैनन् ।

डडेल्धुरामा मेडिकल कलेज निर्माणकाे सम्भाव्यता अध्ययन गर्ने योजनाबाहेक अन्य नयाँ योजना सुदूरपश्चिममा पर्न सकेनन् ।

प्रस्ताविक गेटा मेडिकल कलेजलाई र धनगढी-३ मा रहेका फाप्ला क्रिकेट मैदानलाई खेल ग्राम बनाउने पुरानै कार्यक्रमलाई निरन्तरता दिइएकाे छ । प्रस्तावित गेटा मेडिकल कलेजलाई शिक्षा मन्त्रालय अन्तर्गत रहने गरी सुदूरपश्चिम विश्वविद्यालयको मातहतमा राख्ने र फाप्लालाई खेल ग्राम बनाउने घोषणा बजेटमा गरिएकाे छ ।

यसबाहेक सेती लोकमार्ग, पश्चिम सेती जलविद्युत आयोजना, रानीजमरा कुलरिया सिंचाई आयोजना, महाकाली करिडोर, महाकाली सिंचाइ आयोजना, दैजी-छेला औद्योगिक क्षेत्र, सुख्खा बन्दरगाह, हरैया आर्थिक क्षेत्र, धनगढी विमानस्थलकाे स्तराेन्नति कार्य विगतकै योजनाका निरन्तरताका रुपमा आएका छन् । 

पश्चिमसेती जलविद्युत आयोजना
आगामी आर्थिक वर्ष २०७९/८० मा सरकारले पश्चिम सेती जलविद्युत आयोजनाको कामलाई अगाडि बढाउने घोषणा गरेको छ । यसअघि कहिले थ्री गर्जेज त कहिले अस्ट्रेलियन कम्पनीका नाममा अल्झिएको पश्चिमसेती जलाशययुक्त आयोजना यस पटक सरकार आफैले निर्माण गर्ने वा दातृ निकायको सहयोगमा सञ्चान हुने भन्ने खुलाइएको छैन ।

आइतबार आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बहुचर्चित ७ सय ५० मेघावाटको पश्चिमसेती जलविद्युत आयोजनाको निर्माण कार्य अगाडि बढाइने घोषणा गरेका हुन् । शर्माले प्रस्तुत गरेको बजेट वक्तव्यमा पश्चिमसेती जलविद्युत योजनाको प्राविधिक तयारी गरी निर्माण कार्य अगाडि बढाइने मात्रै उल्लेख छ । 

धार्मिक पर्यटकिय स्थल 
सुदूरपश्चिममा ७ वटा धार्मिक पर्यटकीय स्थलका रुपमा अघि बढाउने घोषणा सरकारले गरेकाे छ । बैतडीको डिलासैनी मन्दिर, बैतडीकै निङलासैनी र मेलौली मन्दिर, डोटीको शैलेश्वरी मन्दिर, डडेल्धुराको उग्रतारा मन्दिर तथा बैतडीको त्रिपुरासुन्दरी मन्दिर र बाजुराको बडिमालिका मन्दिरलाई धार्मिक पर्यटकीय स्थलका रुपमा अघि बढाइने आइतबार सरकारले सार्वजनिक गरेको बजेट वक्तव्यमा उल्लेख छ ।

धार्मिक पर्यटकीय स्थलका रुपमा ७ वटा मन्दिरलाई अघि बढाउन आवश्यक पूर्वाधार निर्माण गरिने उल्लेख छ । यसअघि पनि डोटीको शैलेश्वरी मन्दिर, डडेल्धुराको उग्रतारा मन्दिर, बैतडीको मेलौली भगवती मन्दिर र डिलाशैनी मन्दिर तथा बाजुराको रामारोशनलाई पर्यटकीय स्थलका रुपमा अघि बढाइने गरी बजेट वक्तव्यमा उल्लेख छ । 

धनगढी अत्तरिया मेगासीटी योजना समेटिएन
आर्थिक बर्ष ०७७/०७८ देखि बजेटमा समावेस हुँदै आएको धनगढी-अत्तरिया मेगासिटी निर्माण गर्ने योजनालाई आगामी आर्थिक बर्षको बजेटमा भने समावेश गरिएको छैन । निरन्तर दुई वर्षसम्म मेगासिटी निर्माण गर्ने भन्दै संघीय सरकारको बजेटमा समावेश हुँदै आएको थियो । सो योजना अन्तर्गत धनगढीदेखि अत्तरिया जोड्ने ११ किलोमिटर क्षेत्रमा औद्यागिक क्षेत्र निर्माण गरिने, व्यापार क्षेत्रको विस्तार गरिने योजना रहेको थियो । सो योजना संघीय सरकारले आगामी वर्षको बजेटबाट हटाएको छ ।