२३ बैशाख २०८१, आईतवार

प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान्, इलाम इन्चार्जसहित तीन पक्राउ

Biplav

इलाममा सशस्त्र प्रहरी एवम् नेपाल प्रहरीको संयुक्त टोली र विप्लव समूहका कार्यकर्ताबीच सोमबार राति गोली हानाहान भएको छ । जिल्लाको माई नगरपालिका–९ बोरुङ भन्ने स्थानमा पुगेको संयुक्त टोलीमाथी विप्लवका कार्यकर्ताले हवाई फायर गरेपछि दोहोरो भिडन्त भएको हो ।

राति करिब १२ बजे उनीहरुलाई घेराबन्दी गरेपछि विप्लव कार्यकर्ताले गोली चलाएको र भिडन्त भएको सशस्त्र प्रहरी बलका केन्द्रिय प्रवक्ता तथा उपमहानिरिक्षक प्रविनकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार सश्स्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीमाथी गोली प्रहार भएपछि सशस्त्र प्रहरीले पनि जवाफी सात राउण्ड गोली चलाएको थियो ।

प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्जसहित ३ जनालाई विष्फोटक पदार्थसहित पक्रेको छ । मंगलबार बिहानको राति उनीहरूलाई माई नगरपालिका–९, बोरुङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुको साथबाट विष्फोटक पदार्थ डिटोनेटर १९ थान, प्रेसरकुकर बम १ थान, ग्रिनेड १ थान, टुकि बम १ थान, पाइपमा फिट गरिएको बम १ थान, डेथ कड ६७ फिट, बम बिष्फोटमा प्रयोग हुने मिटर र रिमोट ४ थान, विभिन्न प्रकारका बिष्फोटक पदार्थ, चक्कु तथा दस्तावेजहरु फेला पारिएको छ ।

साथै उनीहरुको साथबाट ३३ हजार ७ सय ८० नगद समेत बरामत गरिएको छ । पक्राउ परेका तिनै जनालाई जिल्ला प्रहरी कार्यालय इलाम लागिएको छ ।

पक्राउ पर्नेमा पार्टीका इलाम जिल्ला इन्चार्ज ‘हिमाल’ भनिने पुष्पबहादुर कोइराला र कार्याकर्ताद्वय ‘जलन’ भनिने पासाङदण्डु शेर्पा तथा ‘सौरभ’ भनिने पासाङ तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।