१५ बैशाख २०८१, शनिबार

गम्भीर समीक्षा गर्छौं: ‘गठबन्धनका कारण नेपाली कांग्रेस र माओवादी केन्द्रले मात्र फाइदा लिए’

madhav nepal

पाँचदलीय गठबन्धनका कारण नेपाली कांग्रेस र माओवादी केन्द्रले मात्र फाइदा लिएको भन्दै अन्य दलले असन्तुष्टि व्यक्त गर्न थालेका हुन् ।

यसबारेमा नेकपा एकीकृत समाजवादीका नेताहरूले सार्वजनिक रुपमै चरम असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले यस विषयमा पार्टीभित्र समीक्षा गर्ने बताउनुभएको छ । मंगलबार २९औं मदन–आश्रित स्मृति दिवसको अवसरमा समाजवादीले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धनको विषयमा समीक्षा गरिने बताउनुभएको हो ।

स्थानीय तह निर्वाचनको परिणाम आफ्नो पार्टीले प्राप्त गर्नुपर्ने जति नभएको उहाँको भनाइ छ । अध्यक्ष नेपालले पार्टीले अपेक्षा गरे अनुसार मत परिणाम नआएको भन्दै गठबन्धनका घटकले नै आफूहरूसँग सहकार्य गर्न नचाहेको बताउनुभयो ।

‘हामी निर्वाचनको गम्भीर समीक्षा गर्नेछौं । गठबन्धनको पनि समीक्षा हामी गर्नेछौ,’ अध्यक्ष नेपालले भन्नुभयो ‘समीक्षा गरेर कहाँ राम्रो भयो, कहाँ त्रुटि गर्‍यौं र आगामी दिनमा हामीले के कुरामा होस गर्नुपर्ने हो । त्यस हुनाले हामीले अहिलेसम्मको निर्वाचनको परिणाम अवश्य पनि हाम्रो पार्टीले प्राप्त गर्नुपर्ने जति छैन होला ।’

त्यस्तै समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि चुनावी परिणाम सकारात्मक नबनेको बताउनुभयो । गठबन्धनलाई निरन्तरता दिन विषयमा पार्टीका समीक्षा गरिने उहाँको भनाइ छ । मंगलबार संसद् बैठकबाट निस्किँदै पार्टीका खनालले अहिलेसम्म आएको परिणाम उत्साहजनक नरहेको र अब कसरी अगाडि जाने भन्नेबारे छलफल गरिने बताउनुभयो ।

त्यस्तै पार्टीका अर्का नेता जीवनराम श्रेष्ठले गठबन्धन आफ्नो पार्टीका लागि प्रभावकारी नबनेको प्रतिक्रिया दिनुभयो । अहिले नै निचोडमा पुग्ने अवस्था त नबनेको भन्दै पार्टीभित्र गम्भीर समीक्षा गरिने उहाँको भनाइ थियो ।

‘अहिले नै निचोडमा पुग्ने अवस्था त बनिसकेको छैन । तर, हाम्रो लागि गठबन्धन प्रभावकारी नभएको देखियो । सबै परिणाम आइसकेपछि समीक्षा गर्नेर्छौं’ उहाले बताउनुभयो ।

जसपा संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले पनि गठबन्धनले नेपाली कांग्रेस र माओवादी केन्द्रलाई मात्र फाइदा पुगेको बताउनुभयो। प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष भट्टराईले स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादीले सेटिङ गरेकाले उनीहरूले लाभ लिएको बताउनुभयो ।

‘गठबन्धनमा कांग्रेस र माओवादीलाई सेटिङ गरेकाले केही लाभ लिए । तर, उनीहरूले पनि सोचेजस्तो लाभ लिन सकेनन् ’ भट्टराईले बताउनुभयो । उहाँले आफू स्थानीय तह निर्वाचनमा गठबन्धन गर्न नहुने पक्षमा रहेको बताउनुभयो । स्थानीय स्तरको विषयमा स्थानीय तहमा बसेका नेता तथा कार्यकर्तालाई धेरै विषय थाहा हुने भएकाले केन्द्रबाट हस्तक्षेप नगरेको अवस्थामा अझ राम्रो परिणाम आउन सक्ने उहाँको भनाई थियो ।

उहाँले स्थानीय तह निर्वाचनमा धाँधली भएको बताउनुभयो । नेपालको लोकतन्त्र हुर्कदै गरेको अवस्थामा रहेको भन्दै बच्चाले फोहोर गरेको जस्तो अलिअलि फोहोर भएको उहाँको भनाइ छ ।

गठबन्धनप्रति नेकपा एमालेले पनि असन्तुष्टि जनाउँदै आएको छ । गठबन्धनका कारण आफ्नो पार्टी कमजोर बनेको एमालेको ठहर छ । राम्रो सम्भावना रहेको क्षेत्रमा पनि गठबन्धनका कारण हार्न पुगेको भन्दै एमालेले गठबन्धनले धाँधली गरेको आरोप लगाएको छ ।