६ जेष्ठ २०८१, आईतवार

६० हजारको कोरोना परीक्षण, दुई संक्रमित थपिएर ५९ जना पुगे

bikas devkota

नेपालमा थप दुई जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। रुपन्देहीमा एक जना र बाँकेमा एक जनामा संक्रमण देखिएको हो।

सरकारले ६० हजार भन्दा बढी मानिसको कोरोना भाइरस परीक्षण गरेको छ। जसमा संक्रमितको संख्या ५९ जना पुगेको छ। शुक्रबारमात्रै २ जना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले १२ हजार ५ सय ७७ जनाको प्रयोगशाला (पिसिआर) र ४७ हजार ७ सय ९७ को र्‍यापिड (आरडिटी) परीक्षण गरिएको जानकारी दिए।

उनका अनुसार क्वारेन्टाइनमा २४ हजार ९ सय ७ र आइसोलेसनमा ९४ जना छन्।

बिहीबारसम्म १२ हजार १३ पीसीआर र ४६ हजार ८ सय ६० को आरडिटी गरिएको थियो।

बाँके र रुपन्देहीमा आज एकरएक जनालाई कोरोना पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ५९ पुगेको छ। नेपालमा देखिएका संक्रमितमध्ये पुरुष धेरै छन्।

रुपन्देही निवासी २५ वर्षीय र बाँकेका ६० वर्षीय दुई पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५९ पुगेको छ। ४९ जना पुरुष संक्रमित हुँदा १० जना महिलामा मात्रै कोरोना संक्रमण देखिएको छ। संक्रमितमध्ये हालसम्म १६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।