१७ बैशाख २०८१, सोमबार

सहरको विकास गर्ने महिला उम्मेदवारको प्रतिबद्धता

A28A1E62 2969 421F AB5B A48252A017F3

फोहोर काठमाडौँलाई सफा, स्वस्थ र हराभरा बनाउने प्रतिबद्धता सत्ता गठबन्धनका तर्फबाट काठमाडौँमा प्रमुखकी उम्मेदवार सिर्जना सिंहले जनाउनुभएको छ ।

शान्ति, न्याय र लोकतन्त्रका लागी समावेशी महिला सञ्जाल सङ्कल्प र महिला गैरसरकारी संस्था महासङ्घको संयुक्त आयोजनामा सोमबार काठमाडौँमा सम्पन्न कार्यक्रममा कांग्रेस नेतृ सिंहले आफूले आफूले अन्धकारमय काठमाडौँलाई उज्यालो बनाएर सबैको लागि सुरक्षित काठमाडौँ बनाउने बताउनुभयो ।

सङ्कल्पकी वरिष्ठ उपाध्यक्ष शोभा बस्नेतले सञ्चालन गरेको कार्यक्रममा नेपाली काँग्रेसका तर्फबाट टोखा नगरपालिकामा मेयरको उम्मेदवार बनेकी रजनी थापाले महिलाले महिलाको खुट्टा तान्ने प्रवृत्ति त्यागेर हात तानेर माथि उठाउनुपर्ने बताउनुभयो । महिला भएकै कारणले मत दिने नभई भिजन र एजेन्डा हेरेर मत दिन उहाँले आग्रह गर्नुभयो ।

विवेकशील साझा पार्टीबाट काठमाडौँको मेयरकी उम्मेदवार समीक्षा बाँस्कोटाले २५ वर्षमा महानगरले ठुला पार्टीका नेताबाट कुनै परिवर्तन नपाएकोले गुनासो गर्नुभयो । बाँस्कोटाले सार्वजनिक यातायातमा हुने हिंसाको न्यूनीकरण, ढलको समस्या समाधान, सार्वजनिक शौचालय, ढुङ्गे धारा र सम्पदाको संरक्षण गर्नु आफ्नो पार्टीको उद्देश्य रहेको बताउनुभयो ।

mahila

काठमाडौँ महानगरमा एमालेका तर्फबाट उपमेयरकी उम्मेदवार सुनिता डङ्गोलले अग्रजहरूको आशीर्वाद लिएर नयाँ पुस्ताले नेतृत्व लिनुपर्ने बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौँमा उपमेयरकी उम्मेदवार विनीता मगैयाँले समानताको लागि महिलाले राजनीतिमा धेरै भन्दा धेरै सहभागिता जनाउनु आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा महिला गैरसरकारी संस्था महासङ्घकी अध्यक्ष डा. शशी अधिकारीले महिला उम्मेदवारलाई जिताएर महिला जनप्रतिनिधिको सङ्ख्यामा उल्लेख्य वृद्धि गर्ने उद्देश्यले संस्थाले विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो ।

    सम्बन्धित समाचार...