१३ बैशाख २०८१, बिहीबार

समाजको सभ्यताको स्तरलाई कला, साहित्य र सङ्गीतले प्रतिविम्वित गर्छ : राष्ट्रपति

Bidhya
फाइल फोटो

राष्ट्रपति विद्यादेवी भण्डारीले कुनै पनि समाजको सभ्यताको स्तरलाई कला, साहित्य र सङ्गीतले प्रतिविम्वित गर्ने गरेको बताउनुभएको छ ।

नातिकाजी स्मृति समाजले आज शीतल कार्यालयमा आयोजना गरेको पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा राष्ट्रपति भण्डारीले समाजको सकारात्मक रूपान्तरणमा कला, साहित्य र सङ्गीतको भूमिका महत्त्वपूर्ण रहँदै आएको बताउनुभयो ।

नेपाली सङ्गीत आकाशका उज्ज्वल नक्षत्रका रूपमा नातिकाजी रहनुभएको स्मरण गर्नुहुँदै राष्ट्रपति भण्डारीले स्रष्टाहरूको अथक साधनाबाट सिर्जित मौलिक सिर्जनाले राष्ट्रको पहिचानसमेत स्थापित हुने गरेको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले कलाकारहरू सभ्यताका बाहकहरू भएका र तिनका सृजनाहरू राष्ट्रका अमूल्य निधि र सम्पदा भएको पनि बताउनुभयो ।

राष्ट्रपति भण्डारीले देशको सामाजिक आर्थिक समृद्धिको यात्रामा सर्जकहरूले समेत आ–आफ्नो क्षेत्रबाट आमजनतालाई विकासको अभियानमा थप जागरूक र उत्साहित पार्न भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रपति भण्डारीले स्वर्गीय नातिकाजी श्रेष्ठलाई नेपाली सङ्गीतको इतिहासमा स्वर्णिम युग स्थापना गर्ने अग्रणी सङ्गीतकार तथा गायकका रुपमा स्मरण गर्नुहुंदैे नेपाली सङ्गीतको मानक स्वरूप निर्माण गर्न नातिकाजीले महत्त्वपूर्ण भूमिका खेल्नुभएको बताउनुभयो ।

समारोहमा नेपालको कला,साहित्य र सङ्गीत क्षेत्रका स्रष्टाहरूलाई सम्मान गरिएको थियो ।