१६ चैत्र २०८०, शुक्रबार

‘अहिलेको समस्या क्षणिक हो, चाँडै समाधान हुन्छ’

bhusal

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले केही ठूला उद्योगहरूमा विद्युत् आपूर्तिमा देखिएको समस्याबारे उद्योगी तथा व्यवसायीसँग छलफल गर्नुभएको छ ।

मन्त्रालयमा आज भएको छलफलमा केही उद्योगमा विद्युत् आपूर्तिमा गडबडी हुनुका कारणबारे नेपाल विद्युत् प्राधिकरण र नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीसँग मन्त्री भुसालले छलफल गर्नुभएको हो ।

त्यस अवसरमा मन्त्री भुसालले विद्युत् आपूर्तिमा देखिएको समस्या क्षणिक भएको उल्लेख गर्दै भोलिदेखि नै आपूर्ति सहज हुने विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, “विद्युत् आपूर्तिमा देखिएको समस्या हाम्रो कारणबाट उत्पन्न भएको होइन, विश्वव्यापी समस्या हो । नेपालको सन्दर्भमा यसलाई सल्टाउन सरकार प्रतिबद्ध भएर लागेको छ, चाँडै समाधान हुन्छ ।”

विगतमा ऊर्जा सुरक्षाका लागि ठूला जलाशययुक्त आयोजना नबन्दा सुख्खा समयमा समस्या देखिने गरेको स्पष्ट पार्दै मन्त्री भुसालले केही दिनका लागि देखिएको समस्यालाई राजनीतिकरण नगर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “ऊर्जाकै कारण हामीले समस्या भोग्नु पर्दैन, विगतमा ऊर्जा सुरक्षालाई ध्यान नदिँदा क्षणिक समस्या आएको हो, आगामी दिनमा यस्ता समस्या सल्टिँदै जानेछन् ।”

मन्त्रालयका सचिव देवेन्द्र कार्कीले ऊर्जा प्रणालीमा देखिएको क्षणिक समस्या केही दिनमै हल हुने उल्लेख गर्दै आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्लो समयमा विद्युत् आपूर्तिमा देखिएको समस्या सामान्य भएको भन्दै उद्योगी व्यवसायीलाई नआत्तिन आग्रह गर्नुभयो ।

छलफलमा उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले विद्युत् आपूर्तिमा देखिएका समस्याबारे जानकारी गराउनुभएको थियो ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले विद्युत् आपूर्ति सहज तुल्याउन सरकार र निजी क्षेत्र सँगसँगै मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आगामी दिनमा विद्युतको गुणस्तरीयता सुधार हुने विश्वास व्यक्त गर्नुभयो ।