Close Me
२९ माघ २०८१, मंगलवार

प्रमुख दलहरु नै अप्ठ्यारोमा बागीका कारण

all party

स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनलाई मात्र होइन, नेकपा एमालेका लागि पनि बागी उम्मेदबार ठूलो चुनौती बनेका छन् । असन्तुष्ट उम्मेदवारलाई फिर्ता गराउन उनीहरुले प्रयास नगरेका होइनन् । तर सफल हुन सकेनन् ।

उम्मेदवार छनोटको ‘अप्रजातान्त्रिक मापदण्ड’ र ‘अस्वाभाविक तालमेल’का कारण दलभित्र हुर्किएको असन्तुष्टीसँगै बागी उम्मेद्वार व्यवस्थापन गर्न समस्या भएको विश्लेषकको बुझाई छ ।

भरतपुर, पोखरा र वीरगञ्ज महानगरमा गठबन्धनका साझा उम्मेद्वारको विरोधमा बागी उम्मेदवार छन् । उनीहरुको मनोनयन फिर्ता गराउन गठबन्धन दलका नेताहरुको थुप्रै दौडधुप भयो ।

आश्वासनका आकर्षक प्याकेजहरुले फकाउने प्रयास पनि भए । तर गठबन्धनको तालमेलसँग असन्तुष्टहरुले मानेनन् । अन्तत उनीहरु स्वतन्त्र हैसियतमा चुनावी मैदानमा उत्रिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको गृहनगर भरतपुर महानगरमा कांग्रेसका विद्रोही उम्मेदवारका कारण सत्ता गठबन्धनलाई अप्ठ्यारो परेको छ ।

यता पोखरामा समेत एकीकृत समाजवादीका उम्मेदवारकाविरुद्ध कांग्रेस कै बागी उम्मेदवार उभिएका छन् । वीरगन्ज र विराटनगर महानगरमा समेत बागी उम्मेदवार छन् ।

प्रदेश १ मा प्रमुख ९ र उपप्रमुखमा ३, मधेश प्रदेशमा प्रमुख ४ र उपप्रमुख २, बागमतीमा प्रमुख १० र उपप्रमुख ६, गण्डकीमा प्रमुख १५ र उपप्रमुख ८ स्वतन्त्रको हैसियतमा गठबन्धन र एमालेका बागी उम्मेद्वार चुनावी मैदानमा उत्रिएका छन् ।

यसैगरी लुम्विनीमा प्रमुख ७ र उपप्रमुखमा ३, कर्णालीमा प्रमुख ३ उपप्रमुखमा १ र सुदुरपश्चिममा प्रमुख ४ र उपप्रमुखमा २ बागी उम्मेदवार छन् ।

सबै दलले मापदण्ड बनाएर उम्मेदवार छनौट गरेको जनाए पनि आफन्त, परिवार, पद, सत्ता र शक्तिको प्रयोग हावी भएको भन्दै धेरैले बागी उम्मेदवारी दिएका हुन् ।

दलभित्र बागी उम्मेदवारहरुको विद्रोहको संकेतलाई सामान्य रुपमा लिन हुँदैन । दलभित्र मौलाएको बेथितिविरुद्धको आवाजले निर्वाचनको परिणामलाई बदल्न सक्नेतर्फ सम्वन्धित दल सचेत रहनुपर्छ ।