६ बैशाख २०८१, बिहीबार

एन्फाको साथ पाएका प्रशिक्षक अल्मुताइरी पटक-पटक विवादमा

60fd0b6b409fd coach
फाइल फोटो

प्रशिक्षकका रुपमा अब्दुल्लाह अल्मुताइरी आएसँगै नेपाली फुटवल पटक पटक विवादमा पर्दै आएको छ । अहिले प्रशिक्षण छाडेर बाहिरिएका दश खेलाडीले पत्रकार सम्मेलन नै गरेर प्रशिक्षकले आफुमाथि अन्याय गरेको आरोप लगाएका छन् ।

यसले अल्मुताइरीलाई फेरि विवादमा तानेको । त्यसो त नेपाल फुटवल संघ एन्फाको दर्हो साथ पाएका अल्मुताइरी यस विषयमा केही बोलेका छैनन् भने खेलाडी र प्रशिक्षकमा को दोषी हो ? भन्ने निस्पक्ष छानविन गर्न एन्फाले पनि आँट गरेको छैन ।

प्रशिक्षक अल्मुताइरी सामान्य विषयमा पनि विवादमा आइरहन्छन् । सामाजिक सञ्जालमा पटक पटक स्पष्टिकरण दिने उनले पछिल्लो पटक देखिएको खेलाडी विवादमा मौनता साँधेका छन् ।

बाहिरिएका खेलाडी अन्जन बिष्ट, अनन्त तामाङसहितको फोटो शनिवार बिहान सामाजिक संजालमा राखेका अल्मुताइरी महिला क्रिकेट खेलाडीलाई विदाइ गर्न टियु मैदान पुगे । १७ नयाँ खेलाडी बोलाएर एशिया कप छनोटको अभ्यास जारी राखे ।

उनले यस्ता गतिविधिमार्फत खेलाडीको पत्रकार सम्मेलन र आरोपलाई सामान्य देखाउने प्रयत्न गरेका छन् । यता एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले पनि सुरुदेखि नै खेलाडी विवादको प्रश्नलाइ टार्दै आएका छन् ।

कार्यसमिति बैठक माग गर्दै खेलाडी र प्रशिक्षक विवाद तत्काल समाधान गर्न वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङसहित कार्यसमितिका चार जनाले विज्ञप्ती निकालेका छन् । तर बैठक कहिले बस्ने टुंगो छैन ।

विक्रम लामा अध्यक्ष रहेको खेलाडी संघले एन्फासंग छलफल गरेर समाधान खोज्ने प्रयास गरिरहेको छ । तर गंभीर रुपमा कुनै पनि पक्षबीच छलफल नहुँदा त्यसको घाटा समग्र नेपाली फुटबलले भोगिरहेको छ ।

अल्मुताइरी विवादमा तानिएको यो पहिलो घटना भने होइन । फेसबुकमा उपाध्यक्ष पंकज नेम्वाङले काम गर्न नदिएको भन्दै फेसबुकमार्फत राजीनामा दिने घोषणा गरेका अल्मुताइरीले साफ च्याम्पियनसीपको फाइनल पुगेपछि नेपाल नर्फकने बताएका थिए । मैदान बाहिरका अल्मुताइरीका गतिविधिमा एन्फाले अहिले सम्म प्रश्न सोधेको छैन ।

बाहिरिएका खेलाडीले अल्मुताइरीबाट मानसिक दवाव झेलिरहेको आरोप लगाएका छन् । संस्थाभन्दा माथि न प्रशिक्षक हुन्छ न त खेलाडीनै । फुटवलको विवादलाई रमिते भएर हेरिरहने गंभिर भुल एन्फाले गर्नुहुदैन ।