८ बैशाख २०८१, शनिबार

पठनपाठनको स्तर खस्किँदै स्थानीय र प्रदेशको लापरवाहीले

download
फाइल फोटो

संघीयता कार्यान्वयनसँगै विद्यालय शिक्षा स्थानीय तह मातहतमा गयो । यसले निकै राम्रो हुने अपेक्षा गरिएको थियो । तर विद्यालयस्तरमा नियमित भइरहेका शिक्षक तालिम र प्रशिक्षण समेत हुन सकेन ।

कतिसम्म भने नयाँ पाठ्यक्रम लागू भएको तीन वर्षमा पनि शिक्षकहरुलाई आवश्यक तालिम पाएनन् । यसले एकातिर नयाँ पाठ्यक्रमसँग शिक्षक अभ्यस्त हुन पाएनन् भने शिक्षाको गुणस्तरमा समेत गम्भिर समस्या देखिएको छ ।

विद्यालय शिक्षा स्थानीय तह मातहतमा जानुअघिसम्म शिक्षक तालिम हरेक वर्ष नियमित कार्यक्रमको रुपमा संञ्चालन हुन्थ्यो । तर अहिले संघीय सरकारले न त शिक्षकलाई तालिम दिएको छ न त प्रदेश र स्थानीय सरकारले नै शिक्षकलाई प्रशिक्षित तुल्याएको छ ।

नयाँ पाठ्यक्रमका बारेमा शिक्षकलाई आवश्यक प्रशिक्षण दिन नसक्दा शिक्षकहरु अल्मलिएका मात्र छैनन् शिक्षाको स्तरमा समेत असर परेको छ ।

मुलुक संघीय संरचनामा गएपछि देशभरका शैक्षिक तालिम केन्द्रहरु खारेज गरियो । प्रदेशगत रुपमा ७ वटा तालिम केन्द्र कायम गरेपनि शिक्षकलाई कुनै किसिमको तालिम हुन सकेको छैन ।

नयाँ पाठ्यक्रम लागू भएपनि बर्षौदेखि शिक्षकलाई तालिम नहुँदा समस्या उत्पन्न भएपछि शिक्षा मन्त्रालयले सेवाकालीन र सेवा प्रवेश गरेका नयाँ शिक्षकलाई समेत गरि ६० हजार शिक्षकलाईतालिम र पुर्नताजगी तालिम दिने भएको छ ।

शिक्षकहरुको पेसागत दक्षता सुनिश्चित गर्न सके खस्किदै गएको शिक्षाको स्तर र विद्यार्थीको सिकाइमा सुधार आउने निश्चित छ ।