२१ बैशाख २०८१, शुक्रबार

सबैभन्दा अफ्ठ्यारो गठबन्धनलाई भरतपुर महानगर: रुष्ट भएका बागी उम्मेदवार पौडेलले उम्मेदवारी फिर्ता नगर्ने

chitwan 1

गठबन्धनलाई सबैभन्दा अफ्ठ्यारो परेको चितवनस्थित भरतपुर महानगरपालिकामा नेपाली कांग्रेस नेताले हालेको स्वतन्त्र उम्मेदवारी फिर्ता नहुने भएको छ । सत्ता गठबन्धनबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाललाई मेयर बनाउने गरी भएको तालमेल अवज्ञा गर्दै कांग्रेसका नेता जगन्नाथ पौडेलले दिएको उम्मेदवारी फिर्ता नहुने भएको हो ।

कांग्रेस पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष दाहालसमेतको अनेकन प्रयासबीच पनि पौडेलले उम्मेदवारी फिर्ता नलिने प्रष्ट गरेपछि अफ्ठ्यारो भएको हो । अघिल्लो पटक नै माओवादीलाई मेयर दिँदा रुष्ट भएका चितवनका कांग्रेसी नेता–कार्यकर्ताले यस पटक सुरुदेखि नै गल्ती नदोहो¥याउन पार्टी नेतृत्वलाई पटक पटक भन्दै आएका थिए । तर, कार्यकर्ताको भावना विपरित नेतृत्वले माओवादीकी दाहाललाई नै उम्मेदवार बनाउने निर्णय गरेपछि रुष्ट नेता–कार्यकर्ताको तर्फबाट पौडेलले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो ।

पौडेललाई फकाउन प्रधानमन्त्री देउवाका दूत बनेर पुगेका गृहमन्त्री बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठलाई पौडेलले निराश बनाएर फर्काइदिनुभएको हो । पौडेलको घरमै पुगेर उम्मेदवारी फिर्ता लिन खाँण र श्रेष्ठले गरेको आग्रह पौडेलले अस्वीकार गर्नुभयो ।

त्यसक्रममा प्रधानमन्त्री देउवाले पनि फोन गरेर पौडेललाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभएको थियो । तर, पौडेलले आफू अघि बढिसकेकाले फिर्ता नहुने प्रष्ट गर्नुभएको थियो ।