२० बैशाख २०८१, बिहीबार

कहाँ कस्तो छ प्रतिष्पर्धा ? कसले बाजी मार्ला !

Mayor

मनोनयन दर्ता भएसँगै अब कहाँ कसले बाजी मार्ला भन्ने अड्कलबाजी देखिएको छ। धेरैको चासो र दलहरूले प्रतिष्ठा बनाएको महानगरमा कडा प्रतिष्प्रर्धा हुने देखिएको छ । कहाँ कस्तो छ प्रतिष्पर्धा ? र कस्ता छन् त उम्मेद्वार ?

काठमाडौं महानगरमा सत्ता गठबन्धन पाँच दलबाट उम्मेद्वार बनेकी सिर्जना सिंह नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहकी पत्नी हुन् । उनलाई टक्कर दिनेछन्, एमालेका केशव स्थापितले । उनी २५ बर्षअघि नै मेयर थिए । २०७४ मा एमालेले जितेको र अहिले गठबन्धनको तालमेल भएकोले काठमाडौंको महानगरमा यी दुईबीच नै टक्कर कडा हुने देखिन्छ । अघिल्लो मत हेर्दा गठबन्धनभन्दा एमालेको मत पाँच हजार बढी छ । तर एमाले फुटेकोले उसलाई त्यसको असर पर्नसक्छ । उनीहरुलाई केही साना दल र स्वतन्त्र उम्मेद्वारले पनि चुनौती दिनेछन् ।

अरु महानगरमा पनि चुनावी टक्कर सत्ता गठबन्धन र एमालेबीच नै हुने देखिन्छ । ललितपुरमा गठबन्धनबाट उम्मेद्वार बनेका कांग्रेसका चिरिबाबु महर्जन यसअघिकै मेयर हुन् । उनका मुख्य प्रतिष्पर्धी एमालेका हरिकृष्ण ब्यजनकार हुन् । अघिल्लो निर्वाचनमा व्यञ्जनकार उनै महर्जनसँग झिनो मताअन्तरले पराजित भएका थिए ।

चितवनको भरतपुरमा गठबन्धन दलले माओवादी केन्द्रकी रेणु दाहाललाई फेरि उठाएको छ । त्यहाँ एमालले विजय सुवेदी प्रदेशसभा सदस्यबाट राजीनामा गराएर उम्मेद्वार बनाएको हो । भरतपुरमा राप्रपा र एमालेबीच तालमेल छ ।

सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका धनराज आचार्य पोखरा महानगरमा उठ्दा एमाललेले कृष्ण थापालाई प्रत्यासी बनाएको छ । आर्चाय समाजवादीका कास्की जिल्ला अध्यक्ष हुन भने थापा प्रदेश सांसद छाडेर मौका पाएका हुन् । त्यस हिसावले पोखराको प्रतिष्पर्धा पनि उत्तिकै रोचक छ।

विराटनगरमा गठबन्धनबाट कांग्रेसले जिल्ला उपसभापति नागेश कोइरालालाई मैदानमा उतार्दा एमालले सागर थापालाई मेयरको प्रत्यासी बनाएको छ । कांग्रेसको बलियो पकड मानिएको विराटनगर महानगरमा पनि मुख्य प्रतिष्पर्धा यी दुई पक्षकै हुनेछ। वीरगंजमा भने गठबन्धनबाट जनता समाजवादी पार्टीले राजेशमान सिंहलाई मेयरको उम्मेद्वार बनाएको छ । त्यहाँ एमालेले नवप्रवेशी विजय सरावगीलाई टिकट दिएको हो । सरावगीले जसपाबाट अघिल्लो चुनाव जितेका थिए । तर अहिले एमालेबाट उठे । वीरगंजमा एमालेले लोसपासँग तालमेल गरेको छ। सिंह पनि त्यो बेलाकै प्रतिष्पर्धी हुन् । फरक छ त केवल पार्टी मात्रै ।

नेपालगंज, बुटवल, धनगढी, धरान लगायतका उपमहानगरमा पनि गठबन्धन र एमालेका हेवीवेट नेताहरु नै मैदानमा उत्रिएका छन् । २०७४ चुनावमा सत्ता गठबन्धनमा आबद्ध दलले पाएको मत जाड्ने हो भने सबै उपमहानगरमा एमालेभन्दा सत्ता गठबन्धनको मत भार बढी देखिन्छ । तर कतिपय पालिकामा गठबन्धन दलबीच तालमेलमा कुरा नमिल्दा निर्वाचन परिणामको ठ्याक्कै आकलन गर्न सजिलो छैन्। त्यसमाथि केही साना दल र स्वतन्त्र उम्मेद्वार लोकप्रिय देखिएका छन् । त्यसले यसपटक स्थानीय चुनाव थप रोचक हुने देखिन्छ ।