३ जेष्ठ २०८१, बिहीबार

वामदेवलाई प्रधानमन्त्री र माधवलाई तेस्रो अध्यक्ष बनाउने प्रधानमन्त्री ओलीको अर्को प्रस्ताव

nekapa sachbalaya baithak

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री र माधवकुमार नेपाललाई पार्टी अध्यक्ष बनाउँन प्रस्ताव गरेका छन् ।

उनले आफुले छोड्नै पर्ने अवस्थामा अहिलेसम्म प्रधानमन्त्री वन्ने अवसर नपाएका नेता गौतमलाई सरकारको नेतृत्व गर्न दिने प्रस्ताव अघि सारेका हुन् । कोरोना भाइरसको संकट सकिएपछि आफुले प्रधानमन्त्री पदवाट राजीनामा दिने र गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरे ।

बुधबार राती अबेर सम्म भएको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले अहिलेको कोरोना भाइरसको महामारी सकिएपछि आफू प्रधानमन्त्री पद छोडन तयार रहेको बताउँदै यस्तो प्रस्ताव गरेका हुन् । पार्टी सचिवालयको ३ घण्टा लामो बैठकमा प्रधानमन्त्री ओलीले नयां प्रस्ताव अघि सारेका हुन् । ओलीको प्रस्तावमा सचिवालय सदस्य विष्णु पौडेल र ईश्वर पोखरेलले समर्थन गरेका थिए ।

बैठकमा सहभागि एक सचिवालय सदस्यका अनुसार बैठकको शुरुमा आफ्नो कुरा राखिरहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई बीचमै रोक्दै ओलीले यदी मेरो बिकल्प खोज्ने हो भने वामदेव गौतमलाई प्रधानमन्त्री र माधवकुमार नेपाललाई अध्यक्ष बनाउँन प्रस्ताव गरेका हुन् ।

‘प्रचण्ड, माधव, झलनाथ कमरेड सहित म पनि प्रधानमन्त्री भईसक्यौ बामदेव कमरेड हुनुभएको छैन उहाँलाई प्रधानमन्त्री बनाऔं’ ओलीले भने, ‘संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउँने व्यवस्था पनि गरौं ।’

प्रधानमन्त्री ओलीले त्यसका लागी संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने व्यवस्था गर्ने वा प्रतिनिधिसभाको कुनै एक सिट खाली गरेर भएपनि गौतमलाई ल्याउन आफु तयार रहेको स्पष्ट पारे । अर्का नेता नेपालको हकमा समेत तेस्रो अध्यक्ष बनाउन आफु तयार रहेको प्रधानमन्त्री ओलीको भनाई थियो । त्यसका लागी पार्टीमा तीन अध्यक्ष बनाउन सकिने धारणा प्रधानमन्त्री ओलीले राखेको सचिवालयका एक सदस्यले बताए । प्रधानमन्त्री ओलीको गौतमलाई प्रधानमन्त्री र नेपाललाई अध्यक्ष बनाउने प्रस्तावसंगै नेकपामा पुर्व एमालेहरु एक हुने संकेत देखिएको छ ।

बैठकको सुरुमै बोलेका नेकपाका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले आफुलाई अपमान गरेको र सहमतीअनुसार अघि नबढेको आरोप लगाएका थिए । उनले प्रधानमन्त्री ओलीले यो अवस्थामा पद त्याग्नुपर्ने बताएपनि उनले सवै आरोप अस्विकार गरेका थिए ।

बैठकमा नेता झलनाथ खनालले आक्रोस व्यक्त गर्दै पदबाट राजीनामा दिन प्रधानमन्त्री ओलीलाई सुझाव दिएका थिए । अर्का वरिष्ठ नेता माधवकुमार नेपाल भने बैठकमा नरम शैलीमा प्रस्तुत भएका थिए । सचिवालय बैठकमा प्रवेश गर्नुअघि नेता गौतमले हस्ताक्षरका लागी सांसद समेत रहेकी गौतमपत्नी तुलसा गौतमलाई बालुवाटार ल्याएको भन्दै हांसो गरेका थिए ।

सचिवालय बैठकअघि मंगलवार नेकपाका अध्यक्षद्धय प्रचण्ड र केपी शर्मा ओलीबीच भएको बैठकमा आफुलाई एकल अध्यक्ष दिन प्रचण्डले प्रस्ताव गरेको स्रोतको दावी छ । जवाफमा प्रधानमन्त्री ओलीले नेताहरु बामदेव गौतम,झलनाथ खनाल, माधवकुमार नेपाल र रामबहादुर थापालाई अध्यक्ष बनाउने र त्यसको अध्यक्ष मण्डलको अध्यक्ष भने आफु बन्ने प्रस्ताव गरेका थिए ।

दाहाल निकट एक नेताका अनुसार दाहाल–नेपाल–गौतमको अहिलेको गठबन्धन तोडनका लागि ओलीले यस्तो प्रस्ताव बैठकमा गरेका हुन् । तर उनको प्रस्तावमा कुनै पनि नेताको सहमती नरहेको बताएका छन् ।

बैठकमा कुनै ठोस निर्णय नगर्दै सकिएको छ । अर्को बैठक २० बैशाखमा बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।