११ बैशाख २०८१, मंगलवार

आगामी आर्थिक वर्ष ०७९–८० को नीति कार्यक्रम र बजेटका विषयमा छलफल

ministry of finance nepal ghatana

आगामी आर्थिक वर्ष ०७९–८० को नीति कार्यक्रम र बजेटका विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग अर्थ मन्त्रालयले छलफल गरेको छ ।

छलफलमा सञ्चार मन्त्रालयले नीति कार्यक्रम र बजेटमा समावेश गर्ने विषयबारे प्रस्तुतीकरण दिएको थियो । सञ्चार मन्त्रालयको प्रस्तुतीकरणपछि धारणा राख्दै अर्थमन्त्री जनार्दन शर्माले हुलाक सेवालाई आधुनिकीकरण गर्ने गरी कार्ययोजना ल्याउन र आगामी आबको बजेटमै समावेश गर्न निर्देशन दिनुभयो ।

अर्थमन्त्री शर्माले पुराना जनशक्तिलाई अवकाश दिएर नयाँ जनशक्ति भर्ना गरेर भएपनि हुलाक सेवालाई नयाँ ढङ्गबाट चलाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । सञ्चार मन्त्रालयले हुलाक कार्यालयहरुलाई इ–कमर्स प्लेटफर्ममा पनि प्रयोग गर्नुपर्ने प्रस्ताव गरेको छ ।

दोलखामा फिल्म सिटी निर्माण गर्नुपर्ने सञ्चारको प्रस्तावमा अर्थमन्त्री शर्माले उपयुक्त साझेदार खोजेर कार्यक्रम र बजेट ल्याउन सुझाव दिनुभयो । सबै सरकारी निकायले विज्ञापनको भुक्तानी गर्दा ३ प्रतिशत रकम अनिवार्य रुपले कट्टा गर्ने र यसरी कट्टा गरेको रकम विज्ञापन बोर्डको कोषको दाखिला गर्ने व्यवस्था लागू गर्न पनि प्रस्ताव गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी आबको बजेटमा ठोस विषय बस्तुमात्रै समेटेर आर्थिक विकास केन्द्रित हुनुपर्ने सुझाव दिनुभयो ।