१८ बैशाख २०८१, मंगलवार

समस्याबाट भाग्दै अर्थमन्त्री शर्मा, गर्भनरमा दोष थुपारेर आफू चोखो हुने प्रयास !

अर्थमन्त्री गभर्नर

कार्यकाल सम्हालेबाटै आलोचनाको शिकार बन्दै आएका अर्थमन्त्री जनार्दन शर्मा गर्भनर प्रकरणले थप विवादमा तानिएका छन् । सरकारले स्वायत्त संस्था नेपाल राष्ट्र बैंकका गर्भनर निलम्बन गर्ने अपरिपक्क निर्णय लिएको भन्दै यो कदमको चौतर्फी विरोध भईरहेको छ । यो अवस्थामा अर्थमन्त्री गर्भरमाथि दोष थोपरेर पन्छिन मिल्छ त ?

केपी ओलीकै शब्द सापटी लिएर भन्ने हो भने अनुहार भरी रौं भएका, तर रौं जति पनि ढंग नभएका अर्थमन्त्री छन् जनार्दन शर्मा । उनीसंग अर्थको न कुनै साईनो छ, न कुनै सम्बन्ध । देशकै ढुकुटी सम्हाल्दा पनि उहि जंगली पारा देखाएपछि अर्थतन्त्र अहिले डामाडोल अवस्थामा छ ।

तर अझै पनि उनले चेतेका छैनन्, बरु स्वायत्त संस्था नेपाल राष्ट्र बैंकका गर्भनरमाथि डण्डा चलाएर आफू पानीमाथिको ओभानो बनिरहेका छन् । अर्थतन्त्र विग्रनुमा सबैभन्दा बढी जिम्मेवार अर्थमन्त्रालय र अर्थमन्त्री हुनुपर्ने विज्ञहरुको दाबी छ । उपयुक्त समयमा उपयुक्त निर्णय लिन अर्थमन्त्रालय र राष्ट्र बैंक चुकेको भए पनि यसको दोष गभर्नरलाई मात्रै लगाउन नमिल्ने उनीहरुको भनाई छ ।

यो बीच ढिलै भएपनि राष्ट्र बैंकले चालेका कदम सही रहेको जानकारहरुले बताँउदै आएका छन् । सरकारको तर्फबाट कतिपय बस्तुको आयातमा पूर्ण वा परिमाणत्मक बन्देज लगाउने निर्णय गर्नुपर्नेमा त्यसो हुन नसकिरहेको अवस्थमा राष्ट्र बैंकले भने गत कात्तिकदेखि एकपछि अर्को कदम चाल्दै आएको थियो ।

राष्ट्र बैंक १४ सयभन्दा बढी मालबस्तुमा नगद मार्जिन लगाएर आयात निरुत्साहित नीति लिएको थियो । बैंकहरूलाई अत्यावश्यक बाहेकका क्षेत्रमा एलसी नखोल्नका लागि दबाब दिइएको थियो । तर यहिवेला गरिएको गर्भनर निलम्बनको काम अर्थतन्त्र थप धरासयी बनाउने कदम भएको विज्ञहरुले बताएका छन् ।

प्रधानमन्त्रीले ठाडो हस्तक्षेप गर्ने बेला आएको बताउने उनीहरुले यसलाई अर्थमन्त्री र माओवादीको मात्र असफलता नभई देउवाको समेत असफलता मान्नुपर्ने विज्ञहरुको तर्क छ । देश आर्थिक संकटको दलदलमा फस्दा समेत यो संकटबारे मन्त्री शर्माले विज्ञसंग छलफल गर्ने प्रयाससमेत गरेनन् ।

तत्थ्य र तथ्याङ्कलाई बेवास्ता गरेर आफ्नै दुनियामा रमाईरहेका उनलाई उनकै पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाले काध थापिरहे । अन्तत विज्ञहरु र मिडियाले बारम्बार सचेत गराएपछि विज्ञसंग छलफल गर्ने निर्णय सम्म गरेको गठबन्धनले यतिका दिनसम्म त्यती काम पनि गर्न सकेको छैन । बरु यो दोष सवै गर्भनरमाथि थोपर्ने र आफू चोखिने प्रयासमा छन ।

पूर्वअर्थमन्त्रीहरुले पनि सरकारको पछिल्लो कदमको विरोध गरेका छन् । सरकारले सकारात्मक हस्तक्षेप नगरे देशलाई श्रीलंकाको जस्तो आर्थिक संकटमा पुग्ने पूर्वअर्थमन्त्री विष्णु पौडेलले बताएका छन् । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले त अर्थमन्त्री जनार्दन शर्मालाई जेल हाल्नुपर्ने बताएका छन् ।

अघिल्लो महिना अधिक आयातको कारण विदेशी मुद्राको सञ्चिति घट्दै गएको छ । जसको कारणले गर्दा ६.६ महिनालाई धान्ने मात्रै विदेशी मुद्रा भण्डारमा रहेको छ । जुन श्रीलंकाको झै अवस्थाको यात्रा भएको जानकार र विज्ञहरुले वारम्बार चेतावनी दिईरहेको छन् ।

तर प्रधानमन्त्री देउवा पनि यो संकटप्रति बेवास्ता गरिहेका छन् । मन्त्रीमण्डलको र देशकै कार्यकारीको हैसियतले हस्तक्षेप गर्नु पर्ने अवस्था आँउदा पनि उनी शर्मालाई स्वतन्त्र छोडिरहेका छन् । कांग्रेसको केन्द्रीय समितिमै अर्थमन्त्रीको कामलाई लिएर प्रश्न उठ्दा समेत गठबन्धनको बचाउका लागि शर्माकै पृष्ठपोषणमा देउवा देखिएका छन् ।