१४ बैशाख २०८१, शुक्रबार

को बलियो ? एकसाथ मैदानमा तीन शीर्ष नेता, छोरी जिताउन प्रचण्डको चितवन बास

gathbandan vs uml

स्थानीय तहको निर्वाचन आउन अब मात्र ३४ दिन बाँकी छ । राजनीतिक नेतृत्वमा चुनावको सरगर्मी तीव्र बनेको छ । स्थानीय तहका नेता कार्यकर्तामात्रै होइन, शिर्ष नेतृत्व नै देश दौडाहको भ्याइ नभ्याईमा छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो दुईसातामा ५ पटक चितवन पुगिसके । चितवन दौडाहाको मुख्य उद्देश्य छोरी रेनु दाहाललाई पुनः भरतपुर महानगरको मेयरमा ल्याउनु र आगामी निर्वाचन क्षेत्रमा माओवादीको साख जोगाउन केन्द्रीत छ ।

त्यसका लागि दिनहुँ शिलान्यासका रिवन काट्न र पार्टी प्रवेशीलाई टिका लगाउन दाहाल व्यस्त छन् । शनिबारमात्रै तीन निर्वाचन केन्द्रीत कार्यक्रममा सहभागी भएका उनी बिहानै साइकल म्याराथन प्रतियोगिताको रिवन काट्न सरिक भए ।

भरतपुरको मेयर प्राप्तिका लागि प्रचण्डलाई विपक्षीसँग मात्र नभइ गठबन्धनभित्रै संघर्ष गर्नुपरिरहेको छ । यसअघि विरलै चितवन जाने उनी अहिले तारन्तार पुगिरहेका छन् । उनको जस्तै दौडधुप एमाले अध्यक्ष ओलीको पनि छ ।

दैनिक चारवटा चुनाव लक्षित कार्यक्रमलाई सम्बोधन गर्न भ्याउने ओलीले विपक्षीविरुद्धको मोर्चा कसिलो बनाउन कार्यकर्तालाई प्रशिक्षित गरिरहेका छन् । पाँच दलविरुद्ध एक्लै चुनाव लड्ने साहस जुटाइरहेका उनी पार्टी प्रवेशलाई पहिलो प्राथमिकता बनाइरहेका छन् । विपक्षीमाथिको तीखो प्रहार ओलीको चुनावी प्रतिकारको अस्त्र बनिरहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा आवश्यक्ता र औचित्यलाई निकै मूल्यांकन गरेर मात्रै काठमाडौं छाड्ने नेताहरुमा पर्छन । सिंहदरबारसमेत विरलै पुग्ने उनी दैनिक दुई÷तीनवटा चुनाव लक्षित कार्यक्रममा सहभागी भइरहेका छन् । शनिबारमात्रै देउवा काँग्रेसले फागुन २९ मा सुरु गरेको घरघर जाऔं काँग्रेस जिताऔं भन्ने अभियानलाई समापन गर्न काठमाडौंका कार्यक्रममा सरिक भए ।

उस्तै दौडधुप नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको पनि चलिरहेको छ । देशदौडाहपछि बल्ल काठमाडौं फर्किएका नेपालले भृकृटीमण्डपमा आमसभा सम्पन्न गरेका छन् ।

ठुला राजनीतिक दलमात्रै होइन, चुनावी दौडको भागदौडमा साना दल पनि उत्तिकै सक्रिय रहेका छन् । शुक्रबार मात्रै राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले काठमाडौंमा शक्ति प्रदर्शन गरेका छ । रैथाने दलको हालीमुहालीलाई काबुमा राख्न खोजिरहेका लिङ्देनले पनि देशदौडाहापछि काठमाडौंमा सभा गरेका हुन् ।

स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगमा ७९ दल दर्ता छन्, सबै दल आफ्नो शक्ति र सामाथ्र्यले भ्याए अनुसारको दौडधुपमा छन् । तर उनीहरुको दौड एजेन्डा र नयाँ नीतिविहिन बन्दा पुरानै शैलीको भरमा फिक्का देखिएको छ ।