१८ बैशाख २०८१, मंगलवार

बढुवा विवाद : तीन डिआइजी सर्वोच्च अदालतमा पुगे

DIG To AIG Basanta Dhiraj Rabindra

अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवामा विभेद गरेको भन्दै नेपाल प्रहरीका तीनजना प्रहरी नायब महानिरीक्षक (डिआइजी) सर्वोच्च अदालत पुगेका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तीनजना डिआइजीहरू बसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआइजीमा बढुवा गरेको थियो ।

उक्त निर्णयविरुद्ध डिआइजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्कीले सर्वोच्च अदालतमा निवेदन दिएका हुन् । यसअघि उनीहरूले लोकसेवा आयोगसँग छलफल गरेका थिए । आयोगसँगको छलफलपछि न्यायका लागि भन्दै सर्वोच्च पुगेको डिआइजी ईश्वरबाबु कार्कीले जानकारी दिए ।

वरीयताक्रममा आफूभन्दा कनिष्ठलाई एआइजीमा बढुवा गरेको भन्दै उनीहरूले लोकसेवा आयोगमा उजुरी दिएका थिए । उजुरीपछि छानबिन गर्दै समितिले बढुवा सिफारिसलाई नै सदर गरेको थियो । सोही आधारमा मन्त्रिपरिषद् बैठकले बढुवा गर्ने निर्णय गरेको हो ।

गृहसचिव नेतृत्वको बढुवा सिफारिस समितिले तेस्रो वरीयताका डिआइजी पन्त, छैटौँ वरीयताका सिंह र आठौँ वरीयताका धानुकलाई एआइजी बढुवाका लागि १ चैतमा सिफारिस गरेको थियो ।

उक्त सिफारिसविरुद्ध तीनजना डिआइजीहरूले लोकसेवा आयोगका अध्यक्षको नेतृत्वमा रहेको उजुरी सुनुवाइ समितिमा उजुरी दिएका थिए । उजुरीउपर छानबिन गरी कैफियत नदेखिएको जबाफ दिएको थियो ।