१८ बैशाख २०८१, मंगलवार

बहुमत दिलाउन पार्टीलाई बलियो बनाऔँ : सभापति देउवा

sherabadhur
फाइल फोटो

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीयदेखि सङ्घीय तहमा हुन गइरहेको निर्वाचनमा पार्टीलाई बहुमत दिलाउन नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

आज पार्टी कार्यालयमा बसेको पार्टीका शीर्ष नेता र केन्द्रीय सदस्यको बैठकमा उहाँले सानातिना मतभेदलाई बिर्सेर पार्टीलाई बहुमत दिलाउन आग्रह गर्दै काँग्रेसको पक्षमा माहौल बनाउनुपर्नेमा जोड दिनुभयो ।

सभापति देउवाले पार्टीले सञ्चालन गर्ने चुनाव प्रचार अभियानमा वर्तमान सत्तारूढ गठबन्धनको विरोध नगर्नसमेत आग्रह गर्नुभएको बैठकमा सहभागी केन्द्रीय सदस्य नैनसिंह महरले बताउनुभयो । काँग्रेसले आसन्न चुनाव लक्षित गरेर यही २९ फागुनदेखि एक महिनासम्म देशभर चुनाव प्रचार अभियान सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।

बैठकमा नेता महरले ‘घरघर जाऔँ कांग्रेस जिताऔँ’ को सट्टा ‘निःशुल्क स्वास्थ्य र शिक्षासँगै सर्वसुलभ यातायात, सञ्चार र रोजगार, जनताको अधिकार र काँग्रेसको कार्यभार’ नारा राख्नुपर्ने प्रस्ताव गर्नुभएको थियो । आगामी निर्वाचनलाई लक्षित गरी अभियान र रणनीति तय केन्द्रीय समितिको बैठकबाटै हुनुपर्ने उहाँको भनाइ छ । गठबन्धन गर्दा स्थानीय स्तरको आवश्यकताअनुसार गर्न दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।