१८ बैशाख २०८१, मंगलवार

प्रतिक्रियावादी तत्त्वको गठबन्धन भत्काउने षड्यन्त्र सफल हुँदैन: अध्यक्ष प्रचण्ड

prachand 1
फाइल फोटो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ गठबन्धनलाई भत्काउने षड्यन्त्र सफल नहुने बताउनुभएको छ ।

२७ औँ जनयुद्ध दिवसका अवसरमा मधेस प्रदेश सरकारअन्तर्गतको मधेसी सहिद प्रतिष्ठानद्वारा आज जनकपुरधाममा आयोजित कार्यक्रममा अध्यक्ष ‘प्रचण्ड’ले गठबन्धनलाई अझ सुदृढ र सबल बनाएर लैजाने प्रयत्न भइरहेकाले प्रतिक्रियावादी तत्त्वको गठबन्धन भत्काउने षड्यन्त्र सफल नहुने बताउनुभयो ।

संविधानको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन र राष्ट्रियताको रक्षाका लागि गठबन्धन बनेको उल्लेख गर्नुहुँदै अध्यक्ष ‘प्रचण्ड’ले अझै गठबन्धनलाई निरन्तरता दिनुपर्ने कुरालाई गठबन्धनका साथै नेताहरूले बुझेकाले तत्काल गठबन्धन नटुट्ने दाबी गर्नुभयो ।

कार्यक्रममा मधेस प्रदेशका प्रमुख हरिशङ्कर मिश्रले सहिदको बलिदानीबाट प्राप्त भएका उपलब्धिको रक्षा गर्दै आर्थिक समृद्धि र समानताका लागि सबै दल एकजुट हुनुपर्ने बताउनुभयो ।

कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुँदै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले सहिदको बलिदानीबाट प्राप्त उपलब्धि संस्थागत गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।