
नेकपा माओवादी केन्द्रको पदाधिकारीको आज टुङ्गो लाग्ने भएको छ ।
पदाधिकारी चयनका लागि माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटी बैठक आज बस्दैछ। आठौँ महाधिवेशन सकिएलगत्तै पदाधिकारी चयनका लागि केन्द्रीय समितिको पहिलो बैठक बस्न लागेको हो।
ललितपुरको सानेपास्थित हेरिटेज प्लाजामा दिउँसो ३ बजे बस्ने बैठकले पदाधिकारी चयन गर्ने माओवादीले जनाएको छ।
माओवादीमा अध्यक्षसहित १५ जना पदाधिकारी रहने व्यवस्था छ।
जसमा एकएक जना अध्यक्ष, महासचिव र कोषाध्यक्ष, एक वरिष्ठसहित सात उपाध्यक्ष, दुई उपमहासचिव र तीन सचिवको नाम बैठकले टुंग्याउनेछ।
यसअघि आइतबार अध्यक्ष पुष्पकमल दाहालले महाधिवेशनको बन्दसत्रमा २३६ जनाको नाम केन्द्रीय सदस्यका लागि सिफारिस गर्नुभएको थियो । २९९ केन्द्रीय सदस्यमध्ये अहिले २३६ जनाको नाम टुंग्याइएको हो। केन्द्रीय सदस्यमा समानुपातिकतर्फ १२५ र खुलातर्फ १११ गरी २३६ जनाको नाम टुंग्याइएको हो।
२९९ केन्द्रीय सदस्यमा समानुपातिकतर्फका १५४ मध्ये १२५ र खुलातर्फको १४५ मध्ये १११ जनाको नाम अहिले घोषणा भएको हो। समानुपातिकतर्फ २९ र खुलातर्फ ३४ जना केन्द्रीय सदस्य छनोट हुन बाँकी छ।