तिहारपछि साझा उम्मेद्वार खडा गर्छौः महामन्त्री कोइराला
नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले तिहारलगत्तै संस्थापन इतरको साझा उम्मेदवार तय गर्ने बताएका छन् ।
चितवनको भरतपुर विमानस्थलमा आज (मंगलबार) विहान पत्रकारहरुसंग कुरागर्दै महामन्त्री कोइरालाले तिहारलगत्तै साझा उम्मेद्वार खडा गरेर महाधिवेशनलाई अगाडि बढाइने बताए । उनले साँझा उम्मेद्वारका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता शेखर कोइराला, प्रकाशमान सिंह र आफूबीच वार्ता जारी रहेको भन्दै छिट्टै टुंगोमा पुग्ने बताए ।
‘भरसक म नै सभापतिको साझा उम्मेद्वार बन्ने मेरो प्रयास छ, तर हामी चार जना छलफलमा छौं, सहमति गरेर हामी साझा उम्मेद्वार दिन्छौं ।’-महामन्त्री कोइरालाले भने ।
उनले तिहारपछि महाधिवेशन कार्यतालिका अनुसार सबै जिल्लाको अधिवेशन सम्पन्न गर्दै महाधिवेशनमा लम्किने बताए । महामन्त्री कोइरालाले तिहारपछि महाधिवेशन कार्यतालिकामा कुनै परिवर्तन नआउने दावी समेत गरे । महाधिवेशन प्रक्रिया एकै समयमा सबै ठाउँमा हुनुपर्ने पक्षमा आफू रहेको भन्दै अब कुनै हालतमा महाधिवेशन रोक्न नहुने बताए ।
‘महाधिवेशन एकै समयमा सबै ठाउँमा हुनुपर्ने हो, त्यसो नहुनु बिडम्बना हो’ महामन्त्री कोइरालाले भने ‘तिहारपछि विवादित १३ जिल्लालगायत बाँकी सबैको अधिवेशन सम्पन्न हुन्छ, समयमै महाधिवेशन गराउँछौं ।’ उनले तिहारपछि महाधिवेशन तालिका परिवर्तन हुने संभावना नरहेको बताए ।
यस्तै महामन्त्री कोइरालाले सरकारको स्थायीत्वका लागि मन्त्रीपरिषद् विस्तार आवश्यक रहेकोमा भर्खरै मन्त्रीपरिषद् विस्तारसंगै सरकारले गति लिनेमा विश्वास व्यक्त गरे ।