१८ बैशाख २०८१, मंगलवार

किरण गजमेर बने द भ्वाइस अफ नेपाल सिजन ३ को विजेता

kiran

द भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि विजेता किरण गजमेर बनेका छन् । गत साता भएको सेमिफाइनलबाट चार वटा टिमका एक–एक जना प्रतिभा ग्राण्ड फिनालेमा प्रवेश गरेका थिए।

सिंगिङ रियालिटी सो द भ्वाइस अफ नेपालले आज तेस्रो विजेतामा किरण पाएको हो।

आज भएको ग्रान्ड फिनालेमा किरणले तारा शिरिस मगर, ज्वाला राई र आर्यन तामाङलाई पछि पार्दै भ्वाइस अफ नेपाल सिजन–३ को विजेता बनेका हुन् । उनले उपाधीसँगै २५ लाख रुपैयाँ जितेका छन् ।

उनी कोच प्रमोद खरेलको टिमका प्रतिस्पर्धी हुन् ।

यसअघि भ्वाइस अफ नेपाल सिजन–१ मा सिडी विजय अधिकारी र सिजन–२ राम लिम्बू विजेता बनेका थिए । सिडी विजय टिम दीपका प्रतिस्पर्धी थिए भने राम लिम्बू टिम प्रमोदका प्रतिस्पर्धी थिए ।

टिम प्रमोदबाट फाइनलम पुगेका किरण गजमेर अमेरिकामा बस्छन् । अमेरिकामा बस्दै आए पनि प्रतियोगिताका लागि नेपालमा आएका किरणले सिक्किमका रवि गहतराजलाई पछि पारेर उपाधिको अन्तिम होडमा पुगेका हुन् ।

कोच दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र तृष्णा गुरुङको टिमबाट एक–एक जना उत्कृष्ट प्रतिभा ग्रान्ड फिनालेमा पुगेका छन् । यो सिजनको सर्वोत्कृष्ट को होला भनेर संगीतप्रेमी दर्शकमाझ चासो, चर्चा र प्रतीक्षाको विषय बनेको छ । टिम दीपबाट दार्जलिङका आर्यन तामाङ, टिम प्रमोदबाट किरण गजमेर, टिम राजुबाट तारा श्रीष मगर र टिम तृष्णाबाट ज्वाला राईबीच प्रतिस्पर्धा भएको थियो।

महागुरु दीपको टिमबाट बुटवलका गोविन्द पुनलाई पछि पार्दै आर्यन अन्तिम चारमा पुगेका हुन् । भ्वाइसमा ‘कान्छा छोरा’ भनेर चिनिएका आर्यनले ‘जेठा छोरा’ गोविन्दलाई भोटिङमा पछि पारे ।

सिजन ३ मा दर्शकबाट सर्वाधिक रुचाइएका किरण र रवि एउटै टिममा पर्नु दुर्भाग्य नै सावित भयो। यी दुईका लागि दर्शकको समर्थन लगभग बराबरीजस्तै थियो। तर किरणले बाजी मारे ।

टिम राजुबाट बाग्लुङकी तारा श्रीस मगर पहिलो पटक भ्वाइसको फाइनलमा पुग्ने पहिलो महिला प्रतियोगी हुन् । ताराले काठमाडौंका सोनाम शेर्पालाई भोटिङमा पछि पारेर फाइनल राउन्डको यात्रा तय गरेकी हुन् ।

टिम तृष्णाबाट खोटाङका ज्वाला राई भाग्यमानी ठहरिए। ज्वालाले काठमाडौंकी अफ्रिता खड्गीलाई फाइनलमा पुग्नबाट रोकिदिए। आर्यन, किरण, तारा र ज्वाला चारै जना सिजन ३ को उपाधि प्राप्तिका लागि आँतुर छन। भ्वाइस अफ नेपाल सिजन थ्रीको विजेताले २५ लाख रुपैयाँ पाउनेछ । त्यस्तै उसले वर्ल्ड टूरको पनि मौका पाउनेछ ।

यसअघि सिजन १ मा स्याङ्जाका सिडी विजय अधिकारी र सिजन २ मा झापाका राम लिम्बूले उपाधि जितेका थिए ।