
नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । केन्द्रीय सदस्यहरुले धारणा राख्नेक्रम नसकिएकाले बैठक ११ बजे बुद्धनगरमा बस्ने नेता रघुजी पन्तले जानकारी दिनुभयो ।
हिजोदेखि शुरु केन्द्रीय कमिटी बैठकमा सदस्यहरुले धारणा राख्नेक्रम सम्भवतः आज सकिने नेता पन्तले बताउनुभयो । हिजोको बैठकमा नेता नेपालले धारणा राख्नुहुँदै आफूहरु एमाले एकताको पक्षमा रहेको बताउनुभएको थियो । सम्मानजनक हैसियत प्राप्त भएमात्र पार्टी एकता हुने पनि नेता नेपालले बताउनुभएको स्थायी कमिटी सदस्य पन्तले बताउनुभयो ।
बैठकमा बोल्ने अधिकांश सदस्यहरुले पार्टी एकतामै जोड दिनुभएकाले आन्तरिक विवादमा ठोस निर्णय आउने नेता पन्तले बताउनुभयो । हिजोको बैठकमा सो पक्षका कार्यदल सदस्य तथा एमाले उपाध्यक्ष भीमबहादुर रावलले विघटित कार्यदलबीच भएको १० बुँदे सहमतिको बारेमा बैठकलाई जानकारी गराउनुभएको थियो ।
विहिबारको बैठकमा नेता सुरेन्द्र पाण्डे र योगेश भट्टराईको सहभागिता थिएन । हिजोको बैठकमा डा. विजय पौडेल, ठाकुर गैरे, रामकुमारी झाँक्री, निरादेवी जैरु, भानुभक्त जोशी, झपटबहादुर रावल, सावित्रा भुषाल लगायतले धारणा राख्नुभएको थियो । एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले सो पक्षको बैठकलाई अवैधानिक बैठक भन्दै बैठकमा सहभागी नहुन केन्द्रीय सदस्यहरुलाई आव्हान गर्नुभएको थियो ।