
सत्तारुढ ५ दलीय गठबन्धनको बैठकले सरकारमा सहभागि हुने मन्त्री चयन गर्ने जिम्मा शीर्ष नेताहरुलाई दिएको छ ।
बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, जनमोर्चा र नेकपा एमालेको माधवकुमार नेपाल पक्षको बैठकले मन्त्रालय बाँडफाँडका बारेमा शीर्ष नेतालाई जिम्मेवारी दिएको हो । यस्तै, सरकार संचालनमा सहजता ल्याउन गठित कार्यदललाई बैठकले न्युनतम साझा कार्यक्रम ल्याउन निर्देशन समेत दिएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्व सरकार हाल ५ सदस्यीय छ । सत्तारुढ गठबन्धनका नेताहरुलाई नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल समूहले सरकारमा सामेल नहुने सन्देश पठाएको छ ।
बालुवाटारमा बसेको ५ दलीय बैठकमा नेपाल पक्षबाट नेता विजय पौडेल सहभागि थिए । यस्तै, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने सरकारमा आफ्नो दल सहभागी नहुने बताएका छन् ।
गठबन्धनका नेताहरुलाई केसीले सरकारमा आफ्नो पार्टी सामेल नहुने तथा सरकारले गलत काम गरे भण्डाफोर गर्ने चेतावनी दिएका थिए ।