२५ बैशाख २०८२, बिहीबार

माओवादी पनि प्रदेश २ सरकारमा सहभागी, भोली दुई मन्त्रीको शपथग्रहण

province 2

प्रदेश २ सरकारमा नेकपा माओवादी केन्द्र पनि सहभागी हुने निश्चित भएको छ । माओवादीले एक मन्त्री र एक राज्यमन्त्री लिएर सरकारमा सहभागी हुन लागेको हो ।

शुक्रबार बसेको संसदीय दलको बैठकले माओवादी केन्द्र संसदीय दलका नेता भरत साहलाई मन्त्रीमा र रुबी कर्णलाई राज्यमन्त्रीमा पठाउने निर्णय गरेको प्रमुख सचेतक दिलीपकुमार साहले जानकारी दिए ।

अर्थ मन्त्रालय वा कृषि मन्त्रालयमध्ये कुनै एउटा मन्त्री र राज्यमन्त्री दिने सहमती भएपछि सरकारमा जान लागेको माओवादी केन्द्रका प्रमुख सचेतक साहले जानकारी दिए । उनका अनुसार दलका नेता भरत साह मन्त्री र सांसद रुवी कर्ण राज्यमन्त्री बन्ने निर्णय पनि भइसकेको छ । भोली ३ बजे शपथ ग्रहणको कार्यक्रम राखिएको छ ।

साह महोत्तरी क्षेत्र नम्बर १ को ‘ख’ बाट निर्वाचित सांसद हुने भने सप्तरीकी कर्ण समानुपातिक सांसद हुन् । साह र कर्णले शनिबार नै मन्त्री पदमा शपथ लिन लागेको सचेतक साहले बताए ।

माओवादीले सरकारमा सहभागी हुने मन्त्रीको छनोट गरे पनि मन्त्रालयको टुंगो लाग्न सकेको छैन् । स्रोतका अनुसार माओवादीलाई अर्थ वा सामाजिक विकास मन्त्रालय दिने तयारी गरिएको छ । यो दुवै मन्त्रालयमा जनता समाजवादी पार्टी (उपेन्द्र यादव समूह)का मन्त्री छन् ।

जसपा अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्त ठाकुर पक्षका भौतिक पूर्वाधार विकास मन्त्री र तीन राज्यमन्त्रीलाई बर्खास्त गरेर गत जेठ २६ मा कांग्रेसलाई सरकारमा सहभागी गराएका थिए । माओवादीलाई पनि त्यही बेला सरकारमा ल्याउने भनिए पनि मन्त्रालय टुंगो नलाग्दा त्यस बेला सरकारमा आउन चाहेको थिएन ।

उपेन्द्र यादव समूहले महन्थ ठाकुर समूहका मन्त्रीलाई हटाई कांग्रेसलाई तीन मन्त्रालय दिएर जेठ २६ गते सरकारमा ल्याइसकेको छ । सोही दिन माओवादीलाई पनि सहभागी गराउने कसरत गरिएको थियो । तर ठूला दुई मन्त्रालय मागेपछि सहमति नबन्दा माओवादी सरकारमा सहभागी भएको थिएन ।