१३ बैशाख २०८१, बिहीबार

एमालेविरुद्ध अझै षड्यन्त्र हुन्छ, अध्यादेश ल्याएर हाम्रो पार्टी फोर्न सक्छन्, यिनीहरु जस्केलाबाट आएका हुन्: ओली

oli biplav photo

नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसद अधिवेशन चाँडै अन्त्य गरेर अध्यादेशमार्फत एमाले विभाजन गर्ने षड्यन्त्र भइरहेको बताएका छन् । संसदीय दलको बैठकमा पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्दै अध्यक्ष ओलीले एमालेविरुद्ध अझ धेरै षडयन्त्र हुनसक्ने भएकाले सचेत हुनुपर्ने बताए ।

अध्यक्ष ओलीले अध्यादेश ल्याएर एमाले पार्टी फुटाउने षड्यन्त्र हुनसक्ने भन्दै त्यसतर्फ सजग रहन पार्टी पङ्क्तिलाई निर्देशन दिएका छन् । शुक्रबार बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको एमाले संसदीय दलको बैठकलाई ब्रिफिङ गर्दै संसदीय दलका नेता समेत रहेका ओलीले देउवा नेतृत्वको सरकारले जे पनि गर्न सक्ने भएकाले सजग र सर्तक रहन निर्देशन दिएका हुन् ।

ओलीले सर्वोच्च अदालतको संवैधानिक इजलास गठनकै बेलादेखि फैसलाको पूर्वाभ्यास भइसकेको समेत बताए । रिट निवेदक देउवा पक्ष र नेपाल बार एशोसियनको दबाबमा संवैधानिक इजलास हेरफेर र गठन भएदेखि नै षड्यन्त्रको आभास आफूले पाएको बताए ।

‘यिनीहरु जस्केलाबाट आएका हुन्, जस्केलाबाटै गतिविधि गर्छन् र जस्केलाबाटै अरु गतिविधि गर्छन्’ ओलीले सरकारप्रति लक्षित गर्दै भने, ‘यिनीहरु जे पनि गर्न पछि नपर्ने भएकाले संसद पनि धेरै दिन नचलाउन सक्छन् ।’ ओलीले आगामी निर्वाचनमा आफुहरु मुल ढोकाबाटै सानदारका साथ आउने भन्दै ढुक्क हुन आश्वासन समेत दिएका थिए । 

बैठकमा समसामयिक राजनीतिक विषयमा ब्रिफिङ गरेका ओलीले अब आफ्नो पार्टीले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका थिए । त्यसक्रममा उनले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालप्रति लक्षित गर्दै पार्टी विरोधी गतिविधि गर्नेहरु अपराधी भएको टिप्पणी गरेका थिए । ओलीले त्यस्ता गतिविधिमा संलग्नलाई पार्टीमा स्थान नहुने पनि दोहोर्याएका थिए । 

‘न्याय परिषद्को सिफारिसमा बन्नुपर्ने संवैधानिक इजलास निबेदकको र बार एसोसियसनको दबाबमा बनेसँग षडयन्र सुरु भएको थियो,’ ओलीको भनाइ उद्धृत गर्दै एमाले नेता एवम् सांसद महेश बस्नेतले भने, ‘ यो फैसलामा हाम्रो सहमति छैन। तर हामी लोकतन्त्रवादी भएकोले कार्यान्वयन गरिसकेका छौं।’ ओलीले अदालतले किर्ते कागजलाई मान्यता दिएको टिप्पणी समेत गरे।