१६ चैत्र २०८०, शुक्रबार

चौधौं केन्द्रीय महाधिवेशन समयमै सम्पन्न गर्ने तयारीमा केन्द्रित

congress met baluwatar JgRQiqHZ5w

नेपाली काँग्रेसको पदाधिकारी बैठक सम्पन्न भएको छ । काँग्रेस पदाधिकारी बैठकले मूलत: आशन्न चौधौं केन्द्रीय महाधिवेशनको सन्दर्भमा निर्वाचन, विभिन्न समितिहरूकाे काम र निर्देशिकाहरूबारे छलफल भएको काँग्रेस नेता रमेश लेखकले जानकारी दिनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको काँग्रेसको आजको बैठकमा तीनवटा समितिसँग छलफल भएको काँग्रेस नेता लेखकले बताउनुभयो । निर्वाचन समितिले महाधिवेशनका लागि वडादेखि केन्द्रसम्मको सबै अधिवेशन तथा निर्वाचन सम्पन्न गर्ने जिम्मा लिएको उहाँले बताउनुभयो । निर्वाचन निर्देशिका तयारी भइसकेको र आगामी दिनमा यसलाई कार्यान्वयन गर्ने सम्बन्धमा छलफल भएको काँग्रेस नेता लेखकले बताउनुभयो ।

यसैगरी, काँग्रेसको क्रियाशील सदस्यता छानबिन समितिसँग आज पुनः छलफल भएको छ । काँग्रेस क्रियाशील सदस्यताबारे पनि टुंगोमा पुगिसकेको नेता लेखकले जानकारी दिनुभयो । यससँगै काँग्रेसको समायोजन समितिको सम्बन्धमा पनि छलफल भएको उहाँले बताउनुभयो ।

काँग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिको काम पनि अन्तिम चरणमा प्रवेश गरेको उहाँले बताउनुभएको छ । क्रियाशील सदस्यता सम्बन्धमा समितिले तयार पारेको प्रतिवेदन भोलि,पर्सीसम्ममा प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवालाई बुझाइने पनि नेता लेखकले बताउनु भएको छ ।

करीब नाै लाखको हाराहारीमा क्रियाशील सदस्यता पुगेको पनि काँग्रेस नेता लेखकले बताउनुभयो । देशभरका ७७ वटा जिल्लामध्यमा सप्तरी र बारा जिल्लामा विवाद मिल्न बाँकी छ, यसपछि सबै कुरा टुंगोमा पुग्ने उहाँले बताउनुभयो ।