६ जेष्ठ २०८१, आईतवार

सुजिता ठाकुरको शव सेफ्टी ट्याङमा फेला

sujita

महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको शव पनि फेला परेको छ ।

आईतवार विहान आफ्नै पेट्रोल पम्प बाहिर निर्माणाधिन शौचालयको सेफ्टी ट् याङमा लुकाएको अवस्थामा सुजिताको शव फेला परेको हो । जेठ २० गतेदेखि नै सुजिता बेपत्ता थिइन् । ससुरा पक्षले अन्य पुरुषसँग भागेको भन्दै आएको कुरामा माइती पक्ष सहमत थिएन् । माइती पक्षले हत्या गरेको आशंका पहिले नै गरिसकेको थियो । सुजितालाई मारेर गाडेको शंकास्पद ठाउँ देखाउँदा पनि महोत्तरी प्रहरी अनुसन्धान गर्न मानेको थिएन । मधेसी आयोगले चासो देखाउँदा झण्डै २३ दिनपछि शंकास्पद खेतमा प्रहरीले उत्खनन गर्दा केश, लुगा र शरिरका केहि अवशेष फेला परेको थियो । सोही दिन असार १३ गते प्रहरीले हत्या आरोपी देबर रुपेश र श्रीमान मुकेशलाई नियन्त्रणमा लियो । अहिले दुबैजना प्रहरी हिरासतमै छन् । सुजिताका श्रीमान मुकेश सुस्त मनस्थितिको भएपनि हत्यामा संलग्न रहेको आशंका प्रहरीको छ । ‘खेतमा उत्खनन गर्दा सुजिता हत्याको आंशिक प्रमाण फेला परेपनि महोत्तरी प्रहरी थप अनुसन्धान गर्नुको साटो घटना नै दबाउन खोजे’, सामाजिक अभियन्ता सरोज राय भन्छन्, ‘पछि प्रदेश प्रमुख उमेश रञ्जितकारसँग अनुसन्धान गर्न गुहारेको थिए । धन्य प्रदेश प्रहरी, जो आज सुजिताको शव फेला पार्यो ।’

प्रदेश प्रहरीबाट अनुसन्धानको जिम्मेवारी डिएसपी ज्ञानकुमार महतोले पाएका थिए । अभियन्ता रायका अनुसार जहाँ पहिले उत्खनन गरियो, त्यहाँ नै शव गाडिएको थियो । तर उत्खननको सुइँको पाएपछि त्यहाँबाट सारेर शौचालयको सेफ्टी ट्याङमा राख्यो । ट्याङकमा शव हालेर माथिबाट ढलान गरिएको थियो । प्रहरीले ढलान फोडेर शव सडेगलेको अवस्थामा निकालेको छ । सुजिता हत्या आरोपमा पक्राउ परेका देबर, श्रीमानका साथै ससुरा, देवरानीसहित ६ जनामाथि माइत पक्षले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा किटानी जाहेरी दिएको छ । तर प्रहरीले हालसम्म देबर र श्रीमान बाहेकका अभियुक्तलाई पक्राउ गर्न सकेका छैनन् ।