१८ बैशाख २०८१, मंगलवार

नेपाली युवतीमाथी तेजाब फाल्ने भारतीयलाई ८ वर्ष कैद

stop acid attack

जिल्ला अदालत मकवानपुरले हेटौँडाकी बिन्दवासिनी कंशकारमाथि तेजाब प्रहार गर्ने भारतीय नागरिक दिलीपराज केशरीलाई आठ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ ।

पीडित कंशाकारको उपचारमा खर्च भएको १ करोड १४ लाख ८५ समेत पीडकबाट भराउन तथा पीडकबाट सम्भव नभए राज्यको कोषबाट भए पनि उपलब्ध गराउन अदालतले आदेश दिएकोे छ ।

जिल्ला न्यायाधीश कमलराज विष्टको इजलासले बिहीबार सो आदेश दिएको अदालतले जानकारी दिएको छ ।

अदालतले कंशाकारमाथि तेजाब प्रहार गर्ने केशरीलाई भगाउन सहयोगी भूमिका निर्वाह गरेको भन्दै हेटौँडाका सञ्जय मण्डललाई २ वर्ष ६ महिना कैद सजायसहित ४० हजार जरिवाना गर्ने निर्णय गरेको छ ।

विवाहको प्रस्ताव अस्वीकार गरेको भन्दै केशरीले कंशाकारमाथि ९ वैशाख २०७० मा पसलमा बसिरहेको समयमा तेजाब प्रहार गरेका थिए ।

प्रहारपछि मण्डलको मोटरसाइकल चढेर केशरी भागेका थिए ।

वीरगञ्ज हुँदै भारत भागेका उनीलाई ६ वर्षपछि मकवानपुर प्रहरीले भारतबाटै पक्राउ गरेर ल्याइएको थियो ।