१६ चैत्र २०८०, शुक्रबार

सिंगो वडामा क्यान्सरको प्रकोप

lungs cancer

हरिवन ५ (साविकको घर्काैली गाविस)को सिद्धार्थ टोल, धनपति टोल, गोले टोललगायतमा क्यान्सरको प्रकोप फैलिएको छ ।सर्लाहीको हरिवन नगरपालिका ५ मा अढाई वर्षमा क्यान्सरको कारण २६ जनाको मृत्यु भएको छ ।

अहिलेपनि ८ जना क्यान्सरपीडित उपचारको क्रममा छन् । वडाध्यक्ष नगेन्द्र साहले सिंगो वडा नै क्यान्सरको प्रकोप फैलिएको बताए । अधिकांशलाई घाँटी र फोक्सोको क्यान्सर लागेको छ ।

क्यान्सरले विकराल रुप लिएपछि हातेकलको पानी पिउन छोडिएको छ । गाउँका झण्डै चारसय परिवारमा क्यान्सरको त्रास छ ।पानीको कारण यस्तो रोग लाग्न सक्ने डाक्टरले आफन्तलाई बताएपछि हातेकलको पानी खान छोडेको स्थानीय मोती योञ्जनले बताए ।

२०७३ सालमा गाउँमा आर्सेनिक जाँच गर्न आएको प्राविधिक टोलीले पानी जाँच गरेपछि पिउन योग्य नभएको बताएका थिए ।पानीमा आर्सेनिक नरहेपनि अन्य विषाक्त तत्व रहेको बताएका थिए ।

केही वर्षअघि उद्योगले गाउँका केही कलको पानी नमूना परीक्षणको लागि लगेपनि रिपोर्ट अहिलेसम्म सार्वजनिक गरिएको छैन। ~ नयाँ पत्रिका