१५ चैत्र २०८०, बिहीबार

समयमै उपचार भए क्यान्सर निको हुने रोग

cancer

आज विश्व क्यान्सर दिवस । ‘क्लोजिङ द ग्याप इन क्यान्सर केयर’ अर्थात ‘क्यान्सरको उपचारको पहुँचको दूरीलाई बन्द गरौं ’ भन्ने नाराका साथ विश्व क्यान्सर दिवस मनाइएको छ ।

समयमै क्यान्सर रोगको पहिचान हुन नसक्दा नेपालमा ७५ प्रतिशत बिरामीको ज्यान जाने गरेको छ । पहिलो चरणमै रोग पत्ता लगाउन सके क्यान्सर रोगबाट बच्न सकिने चिकित्सहरुले बताएका छन् ।

नेपालमा पछिल्लो समय अव्यवस्थित जीवनशैली र अस्वस्थकर खानपानका कारण क्यान्सर रोगीको संख्या बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार फोक्सोको क्यान्सर पहिलो र स्तन क्यान्सर दोस्रो नम्बरमा छ।

नेपालमा सबैभन्दा बढी पुरुषमा हुने क्यान्सर फोक्सो र महिलामा हुने पाठेघरको मुख र स्तन क्यान्सर हो । यसैगरी प्रोस्टेट, हड्डी र रगतको क्यान्सरका बिरामी पनि बढ्दै गएका छन् ।

क्यान्सर पहिलो, दोस्रो, तेस्रो र चौथो गरी चार चरणमा हुन्छ । पहिलो चरणमा क्यान्सरको पहिचान गर्न सके क्यान्सर ९० प्रतिशत निको हुने गर्दछ । नेपालमा आजको दिनसम्म पनि क्यान्सरका बिरामी चौथो चरणमा मात्र अस्पताल जाने गर्दछन् । चौथो चरणमा क्यान्सरको उपचार गरेपनि निको हुने सम्भावना कम हुने चिकित्सकहरुको भनाइ छ ।

क्यान्सर हुने कारण विश्वव्यापी रूपमै पत्ता लाग्न सकेको छैन । तर कतिपय क्यान्सर धुम्रपान, मध्यपान, तारेको भुटेको खानेकुराले हुने गर्दछ । कतिपय क्यान्सर वंशाणुगत हुने गरेको छ । क्यान्सर रोगबाट बच्न स्वस्थ्यकर नेपाली खाना नै उपयुक्त हुने विज्ञको सुझाव छ ।

क्यान्सर रोग लागेपछि डराएर भाग्नुभन्दा समयमै त्यसको निदान तथा समाधानको उपाय खोज्नु महत्वपूर्ण हुन्छ । शरीरका कुनैपनि भागमा अस्वभाविक रुपमा गाठागुठी देखिनु तर दुखाई नहुनु ,पनि कालान्तरमा क्यान्सरको लक्षण हुन सक्छ । त्यसैले समयमै त्यसको पहिचान हुनु र उपचार हुन सके क्यान्सरोग बाट बच्न सकिन्छ ।