
खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले आउँदो असारभित्र मेलम्चीको पानी काठमाडौं आइपुग्ने बताएकी छन्।
बिहीबार खानेपानीमन्त्री बिना मगरले मेलम्ची आयोजनाबारे स्वेतपत्र जारी गर्दै आर्थिक वर्ष ०७६/७७ भित्र मेलम्चीदेखि सुन्दरीजलसम्मको सुरुङ परीक्षण र सञ्चालन गर्ने घोषणा गरेकी हुन् ।
मन्त्रालयमा मेलम्ची खानेपानी आयोजनाको श्वेतपत्र जारी गर्दै मन्त्री मगरले आउँदो असार मसान्तभित्र दैनिक १७ करोड लिटर पानी काठमाडौंमा ल्याउने मन्त्रालयको योजना रहेकोसमेत उनले उल्लेख गरिन्।

इटालियन कम्पनी सीएमसी आयोजना छाडेर भागेपछि सरकारले मेलम्ची खानेपानी आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी सिनो हाइड्रोलाई दिइएको थियो। चिनियाँ कम्पनीले निर्माणको जिम्मेवारी पाएपछि काम तीब्र रूपमा अघि बढेको मन्त्रालयले जनाएको छ।
असार मसान्तभित्र मेलम्चीको पानी काठमाडौं ल्याउने योजनालाई प्रभावकारी बनाउन मन्त्रालयले नियमित अनुगमन गरिरहेको समेत जनाएको छ।
सरकारले मेलम्ची आयोजनाको बाँकी काम एक वर्षभित्र गरिसक्न गत असोजमा चीनको सिनो हाइड्रोसँग सम्झौता गरेको थियो ।
आयोजना प्रमुख तेजकुमार खत्रीले आवश्यक ठाउँमा आवश्यक संख्यामा कर्मचारी खटाएर निर्माणको काम तीब्र पारिएको जानकारी दिए।
त्यस्तै सुन्दरीजल पोर्टलदेखि पानी प्रशोधन केन्द्र तथा बागमती नदीसम्मको आयोजनाको काम पनि असारभित्रै सक्ने भनिएको छ ।
‘ड्याम सक्नका लागि केही समय लाग्छ तर अल्टरनेट ड्यामबाट असार मसान्तसम्म पानी झर्छ । निर्माण कम्पनीले २/३ महिना पहिले काम सक्नेमा म विस्वस्त छु’ मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले भने ।