
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका एक नेताको काठमाडौं नयाँबानेश्वरस्थित एक रेष्टुरेन्टमा शंकास्पद मृत्यु भएको छ ।
काभ्रे घर भएका नेकपाका ५१ वर्षीय नेता हरिदेव गिरीको नयाँबानेश्वरस्थित आलोकनगर डि क्याफे एण्ड किचन रेष्टुरेन्टमा शंकास्पद मृत्यु भएको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ ।
मंगलबार राति रेष्टुरेन्टमा गम्भीर अवस्थामा भेटिएका गिरीलाई उपचारका लागि प्रहरीले १० बजे नजिकै रहेको सिभिल अस्पताल पुर्याइएका थियो।
अस्पताल पुर्याउनासाथ डाक्टरले उनलाई मृत घोषीत गरेको प्रहरीको भनाइ छ । गिरीको मृत्युको कारण खुलेको छैन।अनुसन्धानका लागि भन्दै प्रहरीले रेष्टुरेन्टका ४ जनालाई नियन्त्रणमा लिइएको जनाएको छ ।
गिरी मंगलबार बिहानैदेखि मदिरा सेवन गरेर रेष्टुरेन्टमा बसेको त्यहाँका कर्मचारीले बताएका छन्।
गिरी काठमाडौँ महानगरपालिका–३१ शान्तिनगरस्थित प्रयासमार्ग बस्दै आएका थिए । गिरीको विभिन्न ठाउँमा चोट देखिनुले हत्या भएको हुनसक्ने परिवारले बताएका छन् ।
काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटी पनि घटनाको अनुसन्धानमा कुनै कसर बाँकी नराखिएको बताउँछन् । उनले प्रकरणको अनुसन्धानका क्रममा ४ जनालाई नियन्त्रणमा लिइएको बताए । ‘त्यसबेला त्यहाँ उपस्थित होटल सञ्चालक र कर्मचारीलाई सोधपुछका लागि नियन्त्रणमा लिएका हौं’, बोगटीले भने, ‘बानेश्वर वृत्तमा राखेर अनुसन्धान जारी छ ।’
गिरि दशनामी समाजका केन्द्रीय कोषाध्यक्ष, रेन्बो स्कुलका संस्थापक तथा प्याब्सन भक्तपुरको सल्लाहकारसमेत थिए ।