२५ बैशाख २०८१, मंगलवार

पेट्रोलियम पदार्थमा लागत मूल्यको शत प्रतिशत भन्दा बढी कर, निगम अझै घाटामा

Nepal Oil NOC

पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको एक साता नबित्दै नेपाल आयल निगम फेरि मूल्य बढाउनुपर्ने दबाबमा परेको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी)ले पठाएको नयाँ मूल्यमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएर आएपछि निगम मूल्य बढाउनुपर्ने दबाब परेको हो ।

मङ्गलबार आइओसीले निगमलाई नयाँ मूल्यसूची पठाएको छ । आइओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार निगमले पाक्षिक रु एक अर्ब सात करोड घाटा व्यहोर्नुपर्ने प्रक्षेपण गरिएको छ । निगमले मङ्गलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको नयाँ मूल्य प्रतिलिटर रु ११४, डिजेल तथा मट्टितेलको रु ९७ र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर रु ६७ प्रतिलिटर तोकेको छ ।

बाह्य हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ८६८ अमेरिकी डलर तथा एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ४०० तोकिएको छ । वृद्धि गरिएको मूल्यमा इन्धन बिक्री गर्दा पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ८२ पैसा, डिजेलमा प्रतिलिटर ४ रुपैयाँ १३ पैसा नोक्सान छ । मट्टितेलको नाफा घटेर प्रतिलिटर २१ रुपैयाँ ५२ पैसा, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँ ३२ पैसा तथा अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनको नाफा ३४ रुपैयाँ १९ पैसामा झरेको छ ।

खाना पकाउने एलपी ग्यासमा भने प्रतिसिलिन्डर २९५.८३ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।

अहिले सरकारले पेट्रोलियम पदार्थमा लागत मूल्यको शत प्रतिशत भन्दा बढी कर लगाउँदै आएको छ । सरकारलाई करको दर घटाउन लगाएर मूल्य स्थिर गर्नुपर्ने मागसमेत बेलाबेलामा उठ्ने गरेको छ । भारतमा भन्दा नेपालमा इन्धनको मूल्य कम हुनु तथा खुला सिमानाका कारण भारततर्फ चोरी निकासी हुने सम्भावना रहेकाले पनि निगम मूल्य समायोजन गर्नैपर्ने दबाबमा छ ।