१८ बैशाख २०८१, मंगलवार

शिक्षक राजेन्द्रकुमार श्रेष्ठको अपहरणपछि हत्या प्रकरण : बेन्चको टुंगो नलाग्दा बहस हुन सकेन

teacher

मोरङको मिक्लाजुङ गाउँपालिका–१ का शिक्षक राजेन्द्रकुमार श्रेष्ठको अपहरणपछि हत्या गरेको मुद्दाको बहस मंगलबार सुरु हुन सकेन ।

आफ्नो संगठनविरुद्ध सुराकी गरेको आरोप लगाउँदै नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताले श्रेष्ठको हत्या गरेको आरोप छ । बेन्चको टुंगो नलाग्दायही घटना सम्बन्धी मुद्दाको बहस सुरु हुन नसकेको हो ।

कार्य व्यस्तताका कारण जिल्ला न्यायाधीशले नभ्याएका कारण बेन्चको टुंगो नलागेको जिल्ला अदालत मोरङका स्रेस्तेदार राजकुमार दाहालले बताए । उनका अनुसार गोला प्रथामार्फत बेन्चको टुंगो लागेपछि बुधबारबाट बहस सुरु हुनेछ ।

न्यायाधीशले नभ्याएकै कारण गोलाप्रथा पनि बुधबार गरिने तयारी रहेको दाहालले बताए । उनका अनुसार वादी नेपाल सरकार तथा प्रतिवादीका कानुन व्यवसायीले बहस सकेपछि अदालतबाट आदेश आउने छ । मुद्दाको बहस सकिएपछि अदालतबाट प्रतिवादी बनाइएकालाई साधारण तारेख वा धरौटीमा छाड्ने अर्थात पूर्पक्षका लागि थुनामा पठाउनेमध्ये एउटा आदेश आउने दाहालको भनाइ छ ।

मिक्लाजुङ गाउँपालिका– १ स्थित सरस्वती आधरभूत विद्यालयका प्रधानाध्यापक ५३ वर्षीय श्रेष्ठको गत मंसिर २३ गते अपहरणपछि धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको थियो । हत्या गरेर फ्यालेको अवस्थामा शव भेटिएकै दिन विज्ञप्ति जारी गरेर प्रतिबन्धित विप्लव समूहले घटनाको जिम्मा लिएको थियो ।

शिक्षक हत्यामा संलग्न भएको आरोपमा विप्लव समूहका मोरङ इन्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विकलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । विकसहित ४२ जनाविरुद्ध जिल्ला अदालत मोरङमा सोमबार अपहरण तथा कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो । अपहरणपछि हत्यामा संलग्न भएको आरोप लागेका ४१ जना भने अझै फरार छन् ।

प्रहरीले घटनाको अनुसन्धान सकेर मिसिल बुझाएपछि सरकारी वकिल कार्यालयले अभियोग पत्र तयार पार्दै अदालतमा मुद्दा दर्ता गरेको हो । तर मुद्दाको बहस हुने बेन्चको टुंगो नलागेका कारण पक्राउ परेका विकसँग अदालतबाट बयान लिने काम पनि सुरुहुन नसकेको हो ।

शिक्षक श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा विप्लव समूहका महासचिवचन्द, पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड सहित ४२ जनालाई अभियुक्त बनाउँदै उनीहरुविरुद्ध मुद्दा दायर गरिएको छ ।