७ बैशाख २०८१, शुक्रबार

भागरथी हत्या प्रकरण सुल्झियो : भागरथी र अभियुक्त एकै विद्यालयका छात्रा र छात्र

bhagirathi

बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न दिनेश भट्टलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले भट्टलाई अभियुक्तका रुपमा आज सार्वजनिक गर्दैछ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयला प्रवक्ता मुकेशकुमार सिंहले बताए अनुसार प्रहरीको प्रारम्भिक अनुसन्धानमा उक्त छात्रले अभियोग स्वीकार गरेका छन । पक्राउ परेका भट्टले बदला लिन भागरथीको बलात्कार पछि हत्या गरेको प्रहरीलाई बताएका छन ।

अभियोग स्वीकार गरेका उनि सनातन धर्म माध्यमिक विद्यालयमै कक्षा ११ मा अध्ययनरत रहेका छन भने भागरथी कक्षा १२ मा अध्ययनरत थिइन् ।

घटना के थियो ?

गत माघ २१ गते बिहान ९ बजे घरबाट विद्यालय हिँडेकी भागरथी त्यसपछि कहिल्यै घर फर्किनन् । बुधबार घरबाट विद्यालय गएकी भागरथी घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर भट्टको शव हत्या गरी फालिएको अवस्थामा फेला परेको थियो ।

उनको शव स्थानीय लवलेक जङ्गलमा विभत्स अवस्थामा फेला परेको थियो । मृत भेटिएकी भागरथीको शरीरभरि निलडाम र घाउ रहेका थिए भने कपडा पनि च्यातिएको अवस्थामा थियो ।

हत्यारा पक्राउ नपरेसम्म भन्दै आफन्तले शव बुझ्न मनेका छैनन् । उनको शवलाई जिल्ला अस्पताल बैतडीमा राखिएको छ। दाहसंस्कार गरिए अपराधी उम्किन्छन् भन्ने आशंकाले परिवार र आफन्तले शव बुझ्न नमानेका हुन ।