लामो दुरीको यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट सञ्चालन हुने
सरकारले अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ ।
सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै आन्तरिक उडान सुरु गर्ने निर्णय गरेको हो । यस्तै लामो दुरीको बस सञ्चालन गर्न दिने निर्णय पनि बैठकले गरेको एक मन्त्रीले जानकारी दिए ।
‘स्वास्थ्य मापदण्ड अपनाएर हवाई उडान र सार्वजनिक यातायात सुरू गर्ने निर्णय भएको छ,’ एक मन्त्रीले भने, ‘यसबारेमा थप प्रष्ट्याउने काम हुन्छ होला। अहिलेलाई खुलाउने भन्ने भएको छ।’
यातायात व्यवसायीहरुले असोज १ गतेदेखि लामो दुरीको बस सञ्चालन गर्ने भन्दै सरकारलाई दवाव दिएका थिए ।
ती मन्त्रीका अनुसार यातायातका साधानले सिट क्षमताको ५० प्रतिशतमात्रै यात्रु बोक्न पाउनेछन् । गत चैत ११ गतेदेखि लकडाउन भएपछि सार्वजनिक यातायात बन्द थियो भने व्यवसायीले खुलाउन माग गर्दै आएपनि सरकारले जोखिम रहेको भन्दै सञ्चालनको अनुमति दिएको थिएन ।
तर, सीमा नाकाहरू भने तत्काल नखुलाउने निर्णय भएको ती मन्त्रीले बताए।
गत चैत १० गतेदेखि लामो दुरीको यातायात बन्द छन्। त्यस्तै, चैत ११ गतेदेखि आन्तरिक हवाई उडान बन्द छ। अन्तर्राष्ट्रिय उडान भने यसअघि नै सर्तसहित खुलिसकेको छ।