 
								अमेरिकाको न्यूयोर्कमा मृत भेटिएका पठाओका एक संस्थापक फहिम सलेहको हत्या अभियोगमा एक व्यक्तिलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ।
म्यान्हटनस्थित आफ्नो अपार्टमेन्टमा ३३ वर्षीय सलेहको शव टाउको र अन्य अङ्ग काटिएको बीभत्स अवस्थामा भेटिएको थियो।
उनका २१ वर्षीय सहायक टाइरिस हस्पिललाई गिरफ्तार गरिएको र हत्याको अभियोग लगाइएको छ। प्रहरीका अनुसार सन्दिग्ध ती युववले सलेहको दशौँ हजार डलर तिर्न बाँकी रहेको आरोप छ।
व्यवसायी सलेहले बाङ्ग्लादेश र नाइजिरियामा लोकप्रिय राइड शेअरिङ कम्पनी स्थापना गरेका थिए।
ती व्यक्तिले सलेहलाई विद्युत् प्रवाह गर्ने अस्त्र टेसर प्रहार गरेको र धारिलो हतियारले साङ्घातिक आक्रमण गरेको आरोप लगाइएको छ।
“ती सन्दिग्धले सलेहको आर्थिक करोबार र निजी मामिला हेर्ने गर्थे,” न्यूयोर्क प्रहरी विभागका प्रमुख गुप्तचर रोड्नी ह्यारिसनले शुक्रवार संवाददाताहरूलाई भने, “उनले पीडितसँग ठूलो रकम लिएको विश्वास गरिएको छ।”
सलेह केही दिन नदेखिएपछि उनकी बहिनीले प्रहरीलाई गुहारेकी थिइन्। मङ्गलवार उनको शव भेटिएको ह्यारिसनले जानकारी दिए।
अमेरिकी सञ्चारमाध्यमका अनुसार सलेह बस्ने भवनको सीसीटीभी फुटेजमा सोमवार मास्क लगाएका एक मानिससँगै उनलाई लिफ्टबाट आएको देखिन्छ।
प्रहरीका अनुसार उनको शरीरनजिकै विद्युतीय करौँती भेटिएको जनाएको छ।
 
											 
											 
											 
									 
									 
									