१४ बैशाख २०८१, शुक्रबार

श्रीमती हत्या गरी टिस्टुङ्को जंगलमा शव जलाएका डिआइजी कोइरालाको जन्मकैद सर्वोच्चले घटायो, जेलबाट छुट्दै

dig ranjan koirala
फाइल फोटो

आफ्नै श्रीमतीको हत्या अभियोगमा जन्म कैदको सजाय भोगीरहेका सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालाको सर्वोच्च अदालतले सजाय घटाइदिएको छ। उनलाई जिल्ला अदालत र उच्च अदातलले जन्मकैद सजाय हुने ठहर गरेको थियो ।

श्रीमतीको हत्यापछि कोइराला २०६८ माघ ८ गते जेल परेका थिए भने सर्वोच्चको नयाँ फैसला अनुसार कोइराला यही साउन ८ गते रिहा हुने देखिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कोइरालाको जन्मकैद सजाय घटाएको हो ।

घटना के थियो ?

२०५० सालमा बिहे गरेका रञ्जन र गीताबाट दुई छोराको जन्म भएपछि उनीहरुको सम्बन्ध बिग्रन थालेको र एक अर्का सँग छुट्टिएर बसेका थिए । यसै क्रममा रञ्जनले चितवनकी तारा रेग्मीसँग सम्बन्ध बढाए । रञ्जनले गीतामाथि सम्बन्ध विच्छेदका लागि दबाब दिंदै अंशचलान मुद्दा हालेका थिए भने गीताले रन्जनमाथि मानाचामल मुद्दा हालेकी थिइन्।

गीता बूढानीलकण्ठ–५ मा बस्थिन् भने रञ्जन ११ महिने नेशनल डिफेन्स कोर्षका लागि २०६८ भदौमा चीन गएका थिए । चीनबाट विदामा २१ पुसमा रञ्जन नेपाल फर्किए र २७ पुसमा गीताको बूढानीलकण्ठ घर गएर कान्छो छोरा लिएर बाहिरा निस्केका थिए । गीताले आफ्ना बाबु हरेराम ढकाललाई त्यसबारे जानकारी दिएकी थिइन् ।

भोलिपल्ट देखी माइतीले बारम्बार प्रयास गर्दा पनि गीतासँग सम्पर्क हुन नसकेपछी गीताका बाबुले महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिए । गीताका बाबु हरेरामले ‘रञ्जनले छोरीको दाइजो र पेवा हत्याउनका लागि सम्बन्ध विच्छेदको दबाब दिँदै आएको, बारम्बार मानसिक र शारीरिक यातना दिएको भन्दै उनलाई बन्धक बनाएर राखेको हुनसक्ने’ आशंकासहित ६ माघ २०६८ मा महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिए ।

त्यसको दुई दिनपछि गीताको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रहेको खबर पाएका हरेरामले छोरीको हत्यामा जिम्मेवार रहेको भन्दै रञ्जन विरुद्ध अर्को जाहेरी दिए।

अनुसन्धान हुँदै जाँदा रञ्जनले २७ पुसमै गीताको हत्या गरेको र मकवानपुरको टिस्टुङ–८ स्थित त्रिभुवन राजपतको मेत्राङ भन्ने स्थानमा जलाएको पुष्टि भयो । २८ पुसमा जलेको अवस्थामा त्यहाँ शरीरका बाँकी अंग भेटिए । डीएनए परीक्षणबाट उक्त शरीरका टुक्रा गीताकै भएको पुष्टि भयो । ८ माघमा नागढुंगामा आफैंले चलाएको बा ८ च ५४०८ नम्बरको गाडीसहित रञ्जन पक्राउ परे।

लामो बहस भएको यस मुद्दामा काठमाडौं जिल्ला अदालतले झण्डै साढे दुई वर्षपछि डिआइजी कोइरालालाई पत्नी गीताको हत्याका लागि जिम्मेवार ठहर्‍याउदै जन्मकैदको फैसला गर्‍यो । उनकी प्रमेका भनिएकी तारालाई एक वर्ष सजाय हुने फैसला पनि अदालतले सुनायो।

त्यस विरुद्ध तीनै पक्षले उच्च अदालत पाटनमा पुनरावेदन गरे । पीडितका तर्फबाट नेपाल सरकारले ताराले ज्यान मार्ने काममा षडयन्त्र गरेको भन्दै १० देखि १५ वर्षसम्मको कैद सजाय मागसहित पुनरावेदन गर्यो भने रन्जन र तारा दुवैले आफूहरु निर्दोष रहेको दाबी गर्दै कुनै सजाय नहुनुपर्ने जिकिर गरे।

२३ मंसीर २०७२ मा उच्च अदालतले तीनै पक्षको पुनरावेदनमा दावी नपुग्ने ठहर गर्‍यो र जिल्ला अदालतको फैसलालाई नै सदर गर्‍यो ।

त्यसपछि रञ्जन र नेपाल सरकार दुवै उस्तै तर्क गर्दै सर्वोच्च अदालत पुगे । त्यसरी आफूकहाँ आइपुगेको मुद्दामा सर्वोच्चले अन्तिम फैसला गर्दै रन्जनको सजाय घटाइदिएको हो।