१८ बैशाख २०८१, मंगलवार

नेपाल प्रहरीको महानिरीक्षकमा बसन्त कुँवर नियुक्त

basanta

नेपाल प्रहरीको प्रहरी महानिरिक्षक (आईजीपी) पदमा वसन्तबहादुर कुँवर नियुक्त भएका छन् ।

आज (शुक्रबार) बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

शुक्रबारबाट प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले अवकाश पाएपछि मन्त्रिपरिषद् बैठकले कुँवरलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो ।

पाँचजना एआईजीहरु आईजीपी बन्ने प्रतिस्पर्धा थिए । कुँवरसँगै टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण वज्राचार्य प्रतिस्पर्धामा थिए ।

उनी २०५१ चैत ५ मा निरीक्षकबाट प्रहरी सेवा प्रवेश गरेका थिए । अहिलेको ३० वर्षे सेवाअवधि कायम रहे कुँवर २०८१ चैतमा अवकाशमा जानेछन् ।

२०६३ भदौ ८ मा डीएसपी, २०७१ फागुन १० मा एसपी, २०७५ फागुन ६ मा एसएसपी र २०७९ असार १७ मा डीआईजी बनेका उनले विभिन्न जिल्लाका अलवा प्रहरी प्रधान कार्यालय र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा रहेर काम गरिसकेका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट व्यापार प्रशासनमा स्नातकोत्तर उनी इन्स्पेक्टर, डीएसपी र एसपी हुँदा विभिन्न जिल्लामा रहेर काम गरेका छन् । गुल्मी, सुनसरी, सिन्धुली, मोरङ, दाङ, रोल्पा, काठमाडौं, नवलपरासी, डोटी, चितवन, नुवाकोट, धादिङ, प्रहरी युक्ति तालिम महाविद्यालयलगायत युनिटमा रहेर काम गरिसकेका छन् ।

२०७३ मा चितवन प्रहरी प्रमुख रहँदा सर्वोत्कृष्ट जिल्ला प्रहरी प्रमुखको अवार्ड पाएका थिए । कुँवर गएको असार १७ मा एसएसपीबाट डीआईजीमा बढुवा भएका थिए ।

डीआईजीमा बढुवा हुँदा उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख थिए । त्यसअघि उनले प्रहरी प्रवक्ताका रुपमा काम गरेका थिए । डीआईजीमा बढुवापछि भने प्रहरी प्रधान कार्यालय कार्यविभागमा पदस्थापना भएका उनी पछिल्लोपटक मधेस प्रदेश प्रहरी प्रमुख बनेका थिए ।

३० वर्षे सेवाअवधि कायम रहेको अवस्थामा कुँवरले २ वर्ष नेतृत्व गर्नेछन् । त्यसपछि यही ब्याजका वैकल्पिकमा भर्ना भएका दीपक थापाले ६ महिना प्रहरी नेतृत्व सम्हाल्नेछन् ।