
संविधान संशोधन विधेयकमा समाजवादी पार्टीकी सांसद सरिता गिरीले राखेको संंशोधन प्रस्ताव अस्वीकृत ।
नयाँ नक्शाअनुसार सरकारको निशान छाप संशोधन गर्नको लागि सरकारले संसदमा दर्ता गरेको विधेयकमा सांसद सरिता गिरीले दर्ता गरेको संशोधन प्रस्ताव सभामुखले अस्वीकृत गरिदिएका छन्।
संसदको शनिबारको बैठकमा संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल सुरु हुनासाथ सांसद गिरी उठेकी थिइन् । तर सभामुख अग्नि प्रसाद सापकोटाले उनको संशोधनलाई आफूले अस्वीकृत गरेको जानकारी दिए ।
जनता समाजवादी पार्टीकी सांसद गिरीले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालमा नपर्ने भन्दै सरकारले दर्ता गरेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गरेकी थिइन्।
प्रतिनिधिसभा नियमावलीको नियम ११२ अनुसार नभएकाले आफूले संशोधन अस्वीकृत गरेकेा उनले बताए । नियम ११२ मा कुनै पनि विधेयकमा संशोधन दर्ता गराउन ‘विधेयकमा निहित सिद्धान्तको विपरीत हुन नहुने र अस्पष्ट वा निरर्थक हुन नहुने’ उल्लेख छ ।
सरकारले दर्ता गरेको विधेयक आज प्रतिनिधि सभाबाट पारित हुँदैछ।
सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर जारी गरेको नयाँ नक्सा जारी अनुसार नक्सा निशान छापमा राख्न संविधान संशोधन विधेयक ल्याएको छ । यसमा समाजवादीकी सांसद गिरीले मात्र संशोधन दर्ता गरेकी थिइन् ।
सोही बेला सांसद गिरीले पनि आफूले बोल्न पाउनुपर्ने माग गरेकी थिइन्। गिरी आफ्नो सिटबाट उठेर बोल्न खोज्दा अरू सांसदहरूले होहल्ला गरेपछि सभामुखले रूलिङ गर्दै उनको संशोधन प्रस्ताव अस्वीकृत गरेको बताएका छन्।
सभामुखले संशोधन प्रस्ताव अस्वीकृत भएको जानकारी दिएपछि सांसद सरिता गिरी प्रतिनिधि सभाको बैठकबाट बाहिरिएकी छिन्।
जनता समाजवादी पार्टीले संविधान संशोधनको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ।
समाजवादी पार्टीले उनलाई संशोधन फिर्ता लिन निर्देशन दिएको थियो भने नयाँ नक्साअनुसार नेपालको निशान छाप परिर्वतन गर्नेे संविधान संशोधन विधेयकको पक्षमा मत दिन पार्टीका सांसदहरूलाई हृविप समेत जारी गरेको छ ।
सांसद गिरीले भने यसबारे सोचेर र्टीको ह्वीप नमान्ने संसदमा जानकारी दिने दललाई बताएकी थिइन् ।