१८ बैशाख २०८१, मंगलवार

बाँकेको नरैनापुरमा आज राति ८ बजेबाट निषेधाज्ञा, सेना परिचालन गर्ने निर्णय

Narainapur quarantine

पछिल्लो समय कोरोनाभाइरसको संक्रमण धेरै देखिएको बाँकेको नरैनापुर गाउँपालिकामा आइतबार राति ८ बजेबाट निषेधाज्ञा जारी गरिएको छ।

कोभिड-१९ संक्रमित नै भाग्न थालेपछि बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।

जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले राति ८ बजेबाट निषेधित लागू गर्ने र नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको हो ।

जिल्ला सुरक्षा समितिको बैठकले पुरै गाउँपालिकामा सेना परिचालन गरेर निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए।

नरैनापुरमा कुल ११४ जनामा कोरोना संक्रमण देखिएको छ, उनीहरु मध्ये एकको मृत्यु भएको छ । गाउँपालिकाको ५ नम्बर वडाका मात्र ६२ जना संक्रमित छन्।

संक्रमित व्यक्तिहरू सबै भारतका विभिन्न ठाउँबाट आएका हुन्। दैनिक संक्रमित संख्या बढेको भन्दै गाउँपालिकाले संक्रमण आफ्नो नियन्त्रणभन्दा बाहिर गएको भन्दै प्रदेश र केन्द्र सरकारसँग गुहार मागेको थियो।

तर पछिल्लो समय संक्रमितलाई अस्पताल ल्याउन खोज्दा स्थानीयले प्रतिवाद गर्न थालेका छन् ।

‘विरामीमा यहाँ (नेपालगञ्ज) ल्याउने लगायतका सन्दर्भमा समुदायको पर्याप्त साथ सहयोग नभएपछि निषेधित क्षेत्र घोषणा गर्नु परेको हो’ बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले भने ।

स्थिति नियन्त्रण बाहिर गएको भन्दै गाउँपालिकाले शनिबार मात्र सेना परिचालन गर्न माग गरेको थियो ।

सम्भावित संक्रमितहरूलाई क्वारेन्टिनको राम्रो व्यवस्था गर्न नसकेको, स्वास्थ्यकर्मीको अभाव रहेको र गाउँमा नकारात्मक हल्ला चलेको भन्दै गाउँपालिकाले सम्बन्धित माथिका निकायसँग सहयोग मागेको हो।

त्यसैअन्तर्गत आज सिडिओसहितको टोली छलफलमा बसेको हो। छलफलले नरैनापुरमा थप स्वास्थ्यकर्मीको टोली पठाउने र जारी सिल अवस्थालाई पनि थप प्रभावकारी बनाउने निर्णय गरिएको छ।