१४ बैशाख २०८१, शुक्रबार

राजाकाे तस्वीर भएका नोट अब नचल्ने, नोटमा स्टिच लगाउन पनि रोक

नेपाल राष्ट्र बैंकले सफा नोट नीति कार्यान्वयनमा ल्याएको छ । राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र जारी गरी पूर्व राजाको तस्बिर अंकित नोट चलन चल्तीको लागी बजारमा नपठाउन निर्देशन दिएको हो ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले क्लीन नोट नीति अन्तर्गत सो निर्देशन जारी गरेको हो । ४ वर्ष अघि ल्याइएको सफा नोट नीतिलाई लागु गर्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सफा नोटहरु मात्रै बजारमा पठाउन पाउनेगरी नयाँ ब्यवस्था गरेको हो ।

राष्ट्र बैंकले आइतबार परिपत्र जारी गर्दै बैंकहरुले झुत्रिएको, मक्किएको, जलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेको, छपाई बिग्रेको, नोटमा रहेका अक्षर र चित्र नबुझिने, रंग लागेको, पूर्व राजाको तस्वीर भएको चित्रलाई समेत चलनचल्तीका लागि अयोग्य हुने जनाएको छ ।

बैंकहरुले आफूसँग प्राप्त हुन आएको रकमलाई मेसिनको माध्यमबाट चलनचल्तीमा पठाउन योग्य, काउन्टर भुक्तानीबाट चलनचल्तीमा पठाउन योग्य र चलनचल्तीमा पठाउन अयोग्य गरी तीन भागमा छुट्याउनुपर्ने र तीन प्रकारको नोटलाई क्रमशः हरियो, सेतो र रातो रंगको क्लिप प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ ।

त्यस्तो क्लिप गर्ने बैंकका कर्मचारीको नाम, परिचयपत्र नम्बर, हस्ताक्षर र मितिसहितको विवरण राख्नुपर्ने व्यवस्था गरिएको छ ।

रातो क्लिप भएका नोटलाई बजारमा पठाउन पाइने छैन । यस्तो नोटलाई राष्ट्र बैंकमा खाता भएकाले राष्ट्र बैंकमा र राष्ट्र बैंकमा खाता नभएका वित्तीय संस्थाले आफ्नो खाता भएको बैंकमा त्यस्तो नोट बुझाउनुपर्ने राष्ट्र बैंकले व्यवस्था गरेको छ ।

राष्ट्र बैंकको नयाँ व्यवस्था अनुसार अब नोटमा बैंकहरुले स्टिच गर्न पाउँने छैनन् । रबर, प्लाष्टिक रबर र पेपर बैण्डको प्रयोग गर्न भने पाइने व्यवस्था गरेको छ ।

त्यस्तैगरी राष्ट्र बैंकले जारी गरेको परिपत्रअनुसार अबदेखि बैंक तथा वित्तीय संस्थाले भुक्तानी गरी दिने नोटलाई तीन भागमा विभाजन गर्नुपर्ने छ ।

बैंकहरुले एटीएमबाट पठाउने रकमलाई हरियो, काउन्टरबाट पठाउनेलाई सेतो र अयोग्यलाई रातो रंगको क्लिप प्रयोग गर्नुपर्ने छ ।

यसरी भुक्तानी गर्न योग्य नोटलाई निश्चित प्रकृया अपनाई जिवाणु तथा भाइरस रहित गनुपर्ने व्यवस्था पनि गरिएको छ। साथै नोट राख्ने दराज तथा भल्ट पनि सफा राख्न, प्रकाश र हावा छिर्ने ठाउँ बनाउन निर्देशन राष्ट्र बैंकको छ ।

त्यस्तै राष्ट्र बैंकले नोटमा स्टिचको प्रयोग नगरी रवर वा प्लाष्टिकको वैन्ड प्रयोग गर्न र नोटमा केरमेट नगर्न पनि सर्वसाधरणलाई आग्रह गरेको छ ।

बजारमा पठाउन योग्य नोटलाई अनिवार्य रुपमा संक्रमण हित बनाउन समेत राष्ट्र बैंकले निर्देशन दिएको छ । साथै नोट राख्ने दराज, भल्ट, फर्निचर वा नोट ओसारपसार गर्ने सामाग्री पनि सफा हुनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।