२३ बैशाख २०८१, आईतवार

सुलभ अग्रवाललाई समाउदै छोडदै, मुद्दा भए पनि किन छुटे ?

sulabh agrawal

थर्मल गन कालोबजारीको आरोपमा प्रहरी नियन्त्रणमा परेका सुलभ अग्रवाललाई सम्पत्ति शुद्धीकरण विभागले तारेखमा छाडेको छ ।

अग्रवाललाई बिहीबार नै जिल्ला अदालत, काठमाडौंले २५ लाख ५० हजार धरौटीमा छाडेको थियो ।अदालतको आदेशमा धरौटी बुझाएर छुटेलगत्तै महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अग्रवाललाई पुनः पक्राउ गरी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पेस गरेको थियो ।

विभागले अग्रवालसँग बयान लिएर लकडाउनपछि अनुसन्धान गर्ने गरी छाडेको र बिहीबार नै अनुसन्धान अधिकृत तोकेर अग्रवालमाथिको छानबिन अघि बढाएको जनाएको छ ।

सरकारी वकिल कार्यालयले थर्मल गनको बिलबारे अनुसन्धान गर्नुपर्ने भएकाले राजस्व अनुसन्धान विभागलाई आवश्यक छानबिन गर्न यसअघि नै पत्राचार गरेको थियो । राजस्व छली भएको पाइएमा उनलाई राजस्वअन्तर्गत समेत मुद्दा चल्नेछ ।

अग्रवाल सम्बद्ध सबै उद्योगमाथि छानबिन हुने

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान अधिकृत तोकेर नै अग्रवाल सम्बद्ध सबै कम्पनी र उद्योगमाथि छानबिन थालेको छ । अग्रवाल मुलुकको औद्योगिक घराना शंकर ग्रुपका उपाध्यक्ष हुन् ।

शंकर ग्रुपले जगदम्बा स्टिल, जगदम्बा सिमेन्ट, जगदम्बा मिल्स, रिद्धिसिद्धि मिनिरल वाटर, युनियन लाइफ इन्स्योरेन्स, जगदम्बा मोटर्स, जगदम्बा वायरलगायत दुई दर्जनभन्दा बढी सामग्रीको व्यवसाय गर्दै आएको छ ।

यी सबै उद्योगमाथि छानबिन गरी अग्रवालको सबै सम्पत्तिको खोजतलास गरिने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जनाएको छ ।